
लागुऔषध मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका चितवन राप्ती नगरपालिका-२ पिप्लेका ४६ वर्षीय प्रभुराम राईलाई आज काठमाडौंको शङ्खपार्कबाट पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका राईलाई आज पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका राईविरुद्ध लागुऔषध खैरो हेरोइनसम्बन्धी दुई वटा मुद्दा दर्ता भएका थिए ।
विक्रम संवत् २०८१ मङ्सिर २५ गते दर्ता भएको उक्त मुद्दाको फैसला हुन बाँकी रहेको ब्यूरोले जनाएको छ ।
पक्राउ परेका राईलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार सुन्धारा बुझाइएको प्रवक्ता रेग्मीले बताए ।