
नेकपा सचिवालय बैठक सकिएलगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् सचिवालय बैठक लम्बिएकाले करीब सवा घण्टा ढिला गरी शुरू भएको हो ।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला बोलाइएको मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको थियो ।
यद्यपि सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित भएपछि खतरा तत्कालका लागि टरेको देखिएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गरेपछि ओली पक्षले त्यसको प्रतिवाद गर्दै आएको छ ।
प्रचण्डले उक्त प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्न नसक्ने अडानमा रहेका ओली बुधवारको बैठकमा उपस्थित भएका थिए ।
सचिवालयमा अब ओलीले पनि छुट्टै प्रस्ताव पेश गर्ने भएका छन् ।
ओलीको प्रस्ताव आएपछि दुवै प्रस्तावमाथि छलफल गर्नेगरी सचिवालयको बैठक मंसिर १३ गतेसम्मको लागि स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले ओलीको प्रस्ताव आएपछि दुवै प्रस्तावमा छलफल गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै प्रस्ताव पेश गरिसकेका छन् ।
सचिवालयको अर्को बैठक मंसिर १३ गते बस्नेछ ।