
कोभिड–१९ को संक्रमण देखिएसँगै दक्षिण अस्ट्रेलिया राज्य सरकारले बुधबार रातिदेखि लागू हुने गरी ६ दिनका लागि लकडाउन गरेको छ । राज्यका प्रिमियर स्टिभन मार्सलले हाल देखिएको संक्रमण अन्यत्र फैलन नदिन कडा लकडाउन आवश्यक भएको बताएका छन् ।
सरकारले लकडाउनका समयमा अत्यवाश्यक काममा बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । अत्यावश्यक कामका लगि निस्कनुपरेको खण्डमा पनि अनिवार्य मास्क लगाउन भनिएको छ । सरकारको निर्णयसँगै राज्यका सबै शैक्षिक संस्थासमेत बन्द गरिएको छ ।
दक्षिण अस्ट्रेलियाको पराफिल्ड भन्ने स्थानबाट समुदायमा भाइरसको संक्रमण देखिएपछि सरकारले थप फैलन नदिन पूर्ण रूपमा लकडाउन गर्न निर्णय गरेको हो । दुई दिनमा ३६ जनामा संक्रमण पुष्टि भइसकेको जनाइएको छ । संक्रमण रोक्न भाइरस फैलिएको स्थानमा रहेका विद्यालय, नर्सिङहोम, फास्टफुड दुई दिनअघि नै बन्द गरिएको थियो ।
प्रिमियरका अनुसार एक घरबाट एक जना मात्र अत्यावश्यक भए बाहिर निस्कन पाउनेछन् । कृषि क्षेत्रका कामदार तथा स्वास्थ्यकर्मीलगायत अत्यावश्यक सेवाका कर्मचारी काममा जान पाउनेछन् । संक्रमितको सम्पर्कमा आएका तथा आशंका गरिएका चार हजारभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको स्थानीय समाचारमा जनाइएको छ ।
प्रिमियर मार्सलले लकडाउनको अवधिमा सबै शैक्षिक संस्था, विश्वविद्यालय रेस्टुरेन्ट, बार, पब बन्द रहने जनाए । रेस्टुरेन्टले दिने टेक अवे सुविधासमेत ६ दिनका लागि बन्द गरिएको उनले जनाए । लकडाउन घोषणा गरिएको समाचार सार्वजनिक भएसँगै राज्यका सुपरमार्केटहरूमा सामान किन्न ग्राहकहरूको भीड लागेको जनाइएको छ । त्योसँगै अधिकारीहरूले लकडाउनको अवधिमा सुपरमार्केट तथा औषधि पसल खुला रहने भन्दै सामान किन्न हतार नगर्न आग्रह गरेका बीबीसीले उल्लेख गरेको छ ।
न्यु साउथ वेल्स र भिक्टोरियाबाहेकका सबै राज्यले दक्षिण अस्ट्रेलियासँगको सीमा बन्द गर्ने निर्णय गरिसकेका छन् । २८ हजारजनामा भाइरसको संक्रमण पुष्टि भएको अस्ट्रेलियामा ९ सय ७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय भिक्टोरिया राज्यमा फैलिएको संक्रमण निकै आक्रामक रणनीतिसँगै नियन्त्रणमा लिइएको थियो । मृत्यु हुनेमध्ये करिब आठ सय जना भिक्टोरियाका हुन् । कान्तिपुर दैनिकमा नारायण खड्काले खबर लेखेका छन् ।