
काठमाडौं, ३१ वैशाख — शुक्रवार भएको विश्वव्यापी साइबर आक्रमणलगत्तै अर्को त्यत्तिकै ठूलो आक्रमण हुन सक्ने सुरक्षाविज्ञहरूले चेतावनी दिएका छन् । शुक्रवारको आक्रमणमा एक लाख २५ हजारभन्दा बढी कम्प्युटर सिस्टममा भाइरस संक्रमण भएको थियो ।

बेलायती साइबर सुरक्षा अनुसन्धानकर्ता माल्वेयरटेकले यस्तै अर्को आक्रमण शायद सोमवार हुनसक्ने बताएको छ । माल्वेयरटेकले शुक्रवारको र्यान्समवेयर आक्रमणलाई सीमित पार्न मद्दत गरेको थियो ।
उक्त भाइरसले युजरहरूका फाइल नियन्त्रणमा लिन्छ । यो स्पेन, फ्रान्स र रुस लगायत सय देशमा फैलिएको थियो ।
बेलायतमा ४८ वटा एनएचएस ट्रस्टहरू यसको शिकार बनेका थिए ।
कम्प्युटरहरूमा संक्रमण गरेपछि भाइरसले एक सन्देश देखाएर भर्चुअल करेन्सी बिटकोइनको तीन सय डलर तिरेपछि मात्र फाइल अनलक हुने व्यवस्था गरेको थियो ।
ह्याकरहरूलाई विश्वव्यापी आक्रमणपछि २२ हजार ८० पाउन्ड तिरिएको बीबीसीले तीनवटा अकाउन्टको विश्लेषणपछि पायो ।
माल्वेयरटेकले आफूलाई बेनामे नै राख्न चाहेका छन् र उनलाई अचानक बनेका नायकका रूपमा हेरिएको छ । उनले भाइरसको फैलावलाई ट्य्राक गर्न र त्यसलाई रोक्नका लागि डोमेन नेम दर्ता गरेपछि उनको प्रशंसा भएको हो ।
बीबीसीबाट