भारतको उत्तर प्रदेशको रामपुरमा मायापिरतीको अनौठो घटना सार्वजनिक भएको छ ।
आधी रात एक प्रेमी आफ्नी प्रेमिकालाई भेट्न उसको घर पुगेको थियो । प्रेमिकाको परिवारले युवकलाई कोठामा बन्द गरेर रातभरि कुटपिट गरे ।
भोलिपल्ट बिहान उनीहरूले युवकलाई कोठाबाट निकालेर प्रहरीसमक्ष सुम्पिए ।
तर मुद्दामामिला हुँदा झन्झट आइलाग्ला भनी युवक र युवतीको परिवारबीच सम्झौता गराइयो । रातभरि पिटाइ खाएको युवक भोलिपल्ट साँझ त्यही घरको ज्वाइँ बन्यो ।
सुमाली गाउँमा घटना भएको हो । प्रेम सिंह नामक युवक लक्ष्मी नामक प्रेमिकालाई भेट्न लगभग मध्यरातमा उसको घर पुगेको थियो ।
लक्ष्मीको परिवारका मानिसले सर्याकसुरुक सुनेपछि उठेर हेरे । बिरालोको चालमा लुसुक्क लक्ष्मीको कोठामा पुग्दा उनीहरूले प्रेमलाई देखे । प्रेमले केही गर्नुअघि नै लक्ष्मीको परिवारका मानिले उनलाई पाता कसेर कुटपिट गर्न थाले।
हल्लाखल्ला भएपछि छिमेकीहरू पनि आएर अनि सबै मिलेर प्रेमलाई ठटाउन थाले ।
भोलिपल्ट प्रेमलाई प्रहरी चौकी लगियो । प्रेमका आमाबुवा पनि चौकी आइपुगे । प्रहरी अधीक्षक अरुण कुमार सिंहले सबैलाई सँगै राखेर कुराकानी गराए ।
त्यसपछि युवक र युवती दुवै पक्षले विवाह गराउनु उचित हुने निष्कर्ष निकाले । अनि अजीमनगर क्षेत्रमा रहेको सानो मन्दिरमा उनीहरूको विवाह भयो ।