
मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ ।
दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वाग्मती प्रदेशबाट ल्याइएको ०१–००६–१०३८ नम्बरको गाडीमा सल्लाको दार लाद्दै गरेका अवस्थामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।
मध्यपहाडी सडकमा दिउँसै दाउराका लागि भनी अत्याधुनिक यन्त्रमार्फत काटिएको सल्लाको १५ गोलियाभन्दा बढी काठ गाडीमा लाद्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ । काठ लाद्दै गरेका करीब १२ मध्ये मुख्य व्यक्तिका रूपमा रहेका प्रकाश पाल थापालाई यन्त्रसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, प्रहरी प्रमुख अनुपम श्रेष्ठ र जिल्ला वन कार्यालय दैलेखको संयुक्त टोलीले क्रसर उद्योग अनुगमन गरेर शुक्रवार मध्यपहाडी राजमार्गको पश्चिमखण्ड हुँदै दैलेख सदरमुकाम आउँदै गर्दा सडकखण्डमै काठ तस्करी भएको भेटाएको हो । उपभोक्ता समितिको पुर्जी नदेखाएपछि थापालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । प्रहरीको टोली देख्नेबित्तिकै टिप्पर चालक भने फरार भएका छन् ।
काठ तस्करीमा संलग्न सबैलाई आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाउने तयारी भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । दैलेखको पश्चिम क्षेत्रमा नियमित गस्ती बढाउने तयारी भएको छ । तस्करी भएको थाहा पाउनेबित्तिकै प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयले नागरिकसँग आग्रह गरेको छ ।
जिल्लाको पश्चिममा पर्ने चामुण्डा बिन्द्रासैनी र आठबीस नगरपालिकाका जंगलमा अवैध रूपमा सल्ला, साललगायत अन्य काठको तस्करी बढेको स्थानीयले गुनासो गरेका छन् । सार्वजनिक वन क्षेत्र अतिक्रमण गरेर विभिन्न पूर्वाधार निर्माण गर्ने कार्य पनि तीव्र बढेको छ ।
मध्यपहाडी सडकखण्डको तलमाथि रहेका काठका रुख वन उपभोक्ता समिति र पहुँचवालाको मिलोमतोमा फँडानी हुने क्रम बढेको छ । चामुण्डा बिन्द्रासैनीका उपप्रमुख ताराकुमारी शाहीले वन विनाश, र सार्वजनिक जग्गा अतिक्रमणको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि स्थानीय सरकार, वन कार्यालय, प्रहरी र प्रशासनको संयुक्त अभियान सञ्चालन गर्नुपर्नेमा सुझाव दिइन् ।