०२ असार २०८३, मंगलबार

एडीबीको सहुलियत ऋण सहयोगमा शुक्लाफाँटामा आधुनिक सडक निर्माण शुरू

मंसिर १०, २०७७
एडीबीको सहुलियत ऋण सहयोगमा शुक्लाफाँटामा आधुनिक सडक निर्माण शुरू

एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास अयोजनाअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा आधुनिक सडक निर्माण कार्य अगाडि बढाइएको छ ।

आयोजनाअन्तर्गत २७ करोड ८७ लाख ८७ हजार ५६१ रुपैयाँको लागतमा ठेक्का प्रक्रियामार्फत ३ वटा सडक निर्माण हुन लागेको हो ।

सडक निर्माणका लागि रमन केएस जेभीसँग ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौता भएको ५ महिनापछि सडक निर्माण हुन लागेको हो ।

आयोजनाअन्तर्गत पिपलाडी क्षेत्रमा १ दशमलव ४ किलोमिटर, झलारीको शान्तिपथबाट टोटीसम्म ३ किलोमिटर र झलारीकै सिसैया जाने सडक ३७० मिटर निर्माण गरिन लागेको ठेकेदार कम्पनीका इञ्जीनियर अमरसिंह ऐरले बताए । उनका अनुसार सडक निर्माणका लागि पहिलो चरणमा सडकको ‘साइड क्लिनिङ’को काम शुरू गरिएको छ ।
 
‘सडकको दायाँबायाँ क्षेत्रमा रहेको झाडी, सडक किनारामा थुपारिएका सामग्री हटाउने कार्य शुरू गरेका छौं,’ इञ्जीनियर ऐरले भने, ‘झाडी सफाइको कामपश्चात नाली निर्माण गर्ने, खोला क्षेत्रमा ग्याविन जाली राख्ने, कल्भर्ट निर्माण गर्ने लगायतका काम हुनेछन् ।’

‘साइड क्लिनिङ’को काम सकिएपछि सडक क्षेत्रमा पर्ने दायाँबायाँका भौतिक संरचना हटाउने कार्यसँगै सडक कालोपत्रको काम गरिने छ । नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले आयोजनाअन्तर्गत पर्ने सडकको दायाँबायाँ पर्ने भौतिक संरचना हटाउनका लागि सम्बन्धित व्यक्तिसँग छलफल गरिने बताए ।

‘पहिलो चरणको छलफल गरेका छौं, त्यसपछि सडकको नक्सांकनको कार्य समेत गरिएको छ,’ उनले भने, ‘दोस्रो चरणको छलफलपछि सडकका संरचना हटाई सडक निर्माण कार्यलाई पूरा गर्छौं ।’ नगरकै गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको आधुनिक शैलीको सडक निर्माणमा सहयोग गर्नसमेत उनले नगरवासीलाई आह्वान गरेका छन् ।

सडक निर्माणको काम ठेक्का सम्झौता भएको २० महिनाभित्र पूरा गर्नुपर्ने प्रावधान राखिएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता गत असार १९ गते भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्