
चन्द्रागिरि नगरपालिकाले नागढुंगा–कलंकी सडकखण्डमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरेको छ ।
काठमाडौं उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढंगले सञ्चालन गर्नका लागि मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामरा जडान गरेको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको रु एक करोड लागतमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरिएको जानकारी दिए ।
'सिसी क्यामरा जडानसँगै नागढुंगा–कलंकी क्षेत्रमा सडक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ', नगरप्रमुख गिरिले भने ।
नगरपालिकाको वडा नं २ नागढुंगादेखि वडा नं १५ कलंकीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन् ।
उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरपालिकाले जनाएको छ ।
राजमार्ग क्षेत्रमा चन्द्रागिरीको ११ वडा पर्दछन् । चन्द्रागिरी नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो ।
यस नगरपालिकामा १५ वडा रहेका छन् । नगरपालिकाका प्रवक्ता एवं वडा नं ११ का वडाध्यक्ष हरिभक्त महर्जनले चन्द्रागिरिले सबै वडामा सिसी क्यामरा जडान गर्ने बताए ।
मुख्य राजमार्ग क्षेत्रमा नगरपालिकाले सिसी क्यामरा जडान गरेपनि भित्री बाटोमा भने वडाले सिसी क्यामरा जडान गर्ने प्रवक्ता महर्जनको भनाइ छ ।