
भारतको दिल्ली उच्च अदालतले एक मुद्दाको सुनुवाइ गर्दै २० वर्ष पूरा भएकी वयस्क युवती आफूले चाहेको बेला बिहे गरेर जोसँग पनि बस्न सक्ने फैसला गरेको छ ।
अंग्रेजी अखबार टाईम्स अफ इन्डियामा प्रकाशित रिपोर्ट अनुसार उच्च अदालतले आफ्नो फैसलामा २० वर्षीय वयस्क युवती आफ्नोबारे निर्णय लिन स्वतन्त्र रहेका फैसला गरेको छ ।
२० वर्षीया सुलेखाका परिवारले उनका पति बबलूविरुद्ध दिएको मुद्दाको सुनुवाइ गर्दै अदालतले दुवैलाई सँगै बस्न अनुमति दिएको छ । परिवारले भने सुलेखा नाबालिग रहेकाले बबलूले उनको अपहरण गरेको आरोप लगाएका थिए । अदालतले परिवारको आरोपलाई खारेज गरिदिएको छ ।
रिपोर्ट अनुसार अदालतका न्यायाधीशहरूले भिडियो कन्फ्रेन्समार्फत सुलेखासँग कुराकानी गर्र्दै बिहे गर्दा सुलेखा वयस्क रहेकी पुष्टि गरेका छन् । सुलेखा वयस्क रहेकी पुष्टि भएपछि अदालतले सुलेखालाई बबलूको घर पुर्याउन आदेश दिएको थियो ।
दिल्ली उच्च अदालतका न्यायाधीश विपिन सांघी र रजनीश भटनागरको फैसला यस्तो समय आएको छ कि जतिबेला उत्तर प्रदेशसहित भारतीय जनता पार्टी (बीजेपी) शासित प्रदेशमा अन्तरधार्मिक प्रेम विवाहमाथि विवाद भइरहेको छ ।