
चीनको माओमिङ शहरमा एक महिलाले आफ्नै पतिलाई पिँजडाभित्र बन्द गरिन् र नदीमा फालिन् । किन ?
पतिले आफूलाई झुक्याइरहेको थाहा पाएपछि आक्रोशमा आएकी पत्नीले पिँजडामा बन्द गरेर नदीमा फालेकी हुन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आफ्ना पतिको अर्कै महिलासँग ‘लभ चक्कर’ चलिरहेको थाहा पाएपछि पत्नीले गत शुक्रवार पतिलाई पिँजडामा बन्द गरिन् । पतिको आधा शरीर नाङ्गो बनाएर पिँजडामा बन्द गरिएको थियो ।
ती आक्रोशित महिलाले आफ्ना पतिलाई अर्कै महिलासँग रङ्गेहात फेला पारेकी थिइन् । आक्रोशित महिलासँग अरु पुरुषहरू पनि थिए, जसले उनलाई पतिको हात बाँध्न र पिँजडामा हाल्न सघाएका थिए ।
यसपछि ती महिलाले आफ्ना पतिलाई पिँजडासहित नदीमा फालिन् । वरिपरि रहेका केही व्यक्तिले पिँजडाभित्र बन्द रहेका ती पुरुषलाई निकालेर अस्पताल भर्ना गरेका जनाइएको छ । लभ चक्करमा डुबेका ती पुरुषको अस्पतालमा उपचार भइरहेको र घटनामा संलग्न ४ जनालाई प्रहरी पक्राउ गरेको समाचारमा उल्लेख छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।