३१ असार २०८३, बुधबार

चिसिएको सम्बन्ध सुधारमा भारत अग्रसर, उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला

मंसिर १३, २०७७
चिसिएको सम्बन्ध सुधारमा भारत अग्रसर, उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला

भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको दुई दिने नेपाल भ्रमणसँगै नेपाल—भारतबीचको उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला भएको छ । नेपाल—भारत सीमा विवादका कारण करिब ७ महिनादेखि जारी संवादहीनताको अन्त्यसँगै अब दुई देशबीच समस्या समाधान गर्ने विषयले सकारात्मक मोड लिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीस्तरको भ्रमणको बाटो खुल्ने गरी अबको दुई सातापछि परराष्ट्र मन्त्रीस्तरको बैठक दिल्लीमा हुने निश्चित भएको छ । दुई देशको छैटौं संयुक्त आयोगको बैठकले उच्च तहको राजनीतिक वार्ता तय गर्नेछ । भारतीय विदेश सचिव शृंगलाले नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय समकक्षी एस जयशंकरको सन्देशसँगै भ्रमणको निम्तो दिइसकेका छन् । पुसको पहिलो सातासम्म दुई देशको संयुक्त आयोगको बैठक दिल्लीमा हुने निश्चित भएसँगै उच्च तहबाट सीमा विवादको विषयमा छलफल हुनेछ ।

परराष्ट्रमन्त्री ज्ञवालीले पनि पुसको पहिलो साता हुने संयुक्त आयोगको बैठकमा नेपाल र भारतबीच देखिएको सीमा विवादको विषय हल गर्न बैठकमा कुरा राख्ने बताएका छन् । मन्त्री ज्ञवालीले ऐतिहासिक तथ्यका आधारमा भारतसँग सीमा विवाद समाधानको विषयमा छलफल गर्ने जनाएका छन् ।

परराष्ट्र मन्त्रीस्तरीय बैठक पुस पहिलो सातासम्म भारतमा हुने

संयुक्त आयोगको बैठक नेपाल र भारतबीच देखिएको समस्या समाधानका लागि छलफल गर्न उपयुक्त अवसर हुनेछ । संयुक्त आयोग बैठकलाई आपसी सम्बन्धका सबै पक्षमा छलफल गर्दै सम्बन्धित निकायलाई निर्देशन गर्ने अधिकारसमेत छ । यस कारण नेपालले हाल देखिएको सीमा विवादको समस्यालाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्नेछ । परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणपछि नेपाल र भारतका तर्फबाट उच्चस्तरीय भ्रमणको मिति तय हुने सम्भावना रहेको छ ।

चिसिएको सम्बन्ध सुधारमा भारत अग्रसर
सीमा विवादका कारण नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि पछिल्लो समय भारत अग्रसर हुँदै आएको छ । विदेश सचिव शृंगलाको दुई दिने औपचारिक भ्रमणसँगै सम्बन्ध सुधारमा भारतले चासो दिएको देखिएको छ । नेपाल र भारतको संयुक्त आयोगको बैठक आलोपालो बस्ने गरेको छ । यसअघि सन् २०१६ मा संयुक्त आयोगको बैठक भारतमा बसेको थियो । त्यसपछि सन् २०१८, मेमा काठमाडौंमा संयुक्त आयोगको बैठक बसेको थियो । जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तयारीमा थिए ।

त्यसपछि हुने भनिएको बैठक हुनुअघि नै लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि भारतीय नक्सामा समेटिएको भन्दै नेपालले नक्सा सच्चाउन भारतलाई अनुरोध ग¥यो । सो प्रकरणपछि नेपालले नयाँ राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्धमा चिसोपना आयो । दुई देशबीच संवादहीनताको अवस्था भएपछि संयुक्त आयोगको बैठक बस्न सकेको थिएन ।

नेपालले यसबीचमा समस्या समाधान गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतलाई दुई पटकसम्म पत्र लेखेर बैठक बस्न आग्रह गरे । तर, भारतले अस्वीकार गर्दै आएको थियो । यस पटक भने भारतले सीमा समस्या समाधानका लागि सकारात्मक रहेको सन्देश दिएको छ । तर, लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय भने भारतले उल्लेख गरेको छैन ।

मन्त्रीस्तरीय बैठकले समाधान खोज्ने अपेक्षा
भारतमा हुने परराष्ट्र मन्त्रीस्तरीय बैठकले कस्तो खालको सन्देश प्रवाह गर्छ भन्ने विषयले आगामी बैठक के हुन्छ भन्ने विषयको निर्धारण गर्नेछ । भारतले सीमा समस्या संयन्त्र बनाएर हल गर्नुपर्ने रायसहितको सन्देश पठाएपछि समस्या हल गर्ने दिशातर्फ उन्मुख भएको मान्न सकिन्छ । नेपालले भने सीमासम्बन्धी संयन्त्र गठन गरेर वार्ता अगाडि बढाउनुपर्ने प्रस्ताव लिएर जाने सम्भावना छ ।

भारतसँग सीमा समस्या समाधानका लागि नेपालले सीमा अध्ययन समिति गठन गरेर ऐतिहासिक प्रमाण समेत जुटाएर राखेको छ । भारतसँग वार्ता हुँदा नेपालले ऐतिहासिक तथ्यको आधारमा वार्ता गर्नेछ । नेपालले सन् १८१६ को सुगौली सन्धिमा जारी भएको ऐतिहासिक नक्सालाई पनि आधार बनाएर तथ्य पेस गर्ने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्