
भारतको जम्मु–कश्मीरमा भएको गोली हानाहानमा शुक्रबार भारतीय सेनामा कार्यरत दाङको तुलसीपुरका एक युवकको मृत्यु भएको छ ।
रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर सेनाका नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको हो । पाकिस्तानतर्फबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
भारतको सीमा सुरक्षामा खटिँदा मारिएका ३० वर्षीय खत्री तुलसीपुर–९ बेलुवाका हुन् । कश्मीरबाट शनिबार बिहान लखनउ आइपुग्ने छोराको शव लिन पिता लालबहादुर शुक्रबारै त्यसतर्फ गएको बेलुवा प्रहरी चौकीका इन्चार्ज असई प्रदीप खड्काले बताए । प्रेमका भाइ लोकराज चार वर्षदेखि अमेरिकामा छन् ।
उनी भने भारतीय सेनाका भूपू सुबेदार पिताकै पथ पछ्याएर १३ वर्षअघि भर्ती भएका थिए । घरमा आमाबुबा, श्रीमती, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन् ।
गत चैतअघि दुईमहिने बिदामा आएर घर बसेर गएका उनी नियमित फोन सम्पर्कमा रहेको र बिहीबार राति मात्रै भिडियो कलमा कुराकानी भएको छिमेकी तुलसी केसीले बताए । ‘परिवारका सबै जनासँग घरव्यवहारको कुरा भएको थियो,’ उनले भने, ‘यस्तो होला भन्ने केही थाहा थिएन ।’
घटनाका बारेमा ‘लाइन अफ कन्ट्रोल’ मा शान्ति कायम गर्ने समझदारी उल्लंघन गर्दै पाकिस्तानतर्फबाट गोलाबारी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कान्तिपुर दैनिकमा दुर्गालाल केसीले खबर लेखेका छन् ।