
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी खरिद र ३८ क्विन्टल सुनको तस्करी हुँदा सत्तामा को थियो भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।
शनिवार सचिवालयमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा उनले यसबारे प्रचण्डलाई प्रश्न गरेका हुन् ।
उनले भनेका छन्, वाइडबडी भनिने ‘एयरबस ३३०’ खरिद गर्दा सरकारमा को थियो ? ३८ क्विन्टलभन्दा बढी सुनको तस्करी हुँदा को सत्तामा थियो ? ललितानिवास प्रकरण कहिलेबाट र कोको हुँदै अगाडि बढेको थियो ? सबै स्पष्ट छैन र ?
उनले केही केसहरुमा आफूलाई जबर्जस्ती जोड्ने धृष्टता गर्नुले प्रचण्डभित्र रहेको पूर्वाग्रह मात्रै दर्शाउने बताएका छन् ।
उनले थपेका छन्, आफ्नै देशमा सुरक्षण मुद्रण प्रेस स्थापना गरेर डाटाहरुको सुरक्षा र वर्षेनी अर्बौंको स्रोत बाहिरिरहने अवस्था नियन्त्रण गर्न केही नीतिगत काम अगाडि बढेका छन् । तर यस विषयमा कुनै सम्झौता भएको छैन । सम्झौतै नभएको विषयमा मलाई जोड्नु भनेको हद दर्जाको पूर्वाग्रह मात्रै हो । नेपाल ट्रस्ट मातहत रहेका सम्पत्तिहरुको व्यवस्थापनका लागि संसदबाट ऐन बनाइएको छ । विगतमा निकै सस्तो मूल्यमा लिजमा दिइएका सम्पत्तिहरुलाई व्यवस्थित मूल्याङ्कन गराएर पारदर्शी ढङ्गले लिजमा दिने प्रक्रिया अगाडि बढाइएको छ ।
प्रतिवेदनमा भनिएको छ,'यस सम्बन्धी श्वेतपत्र नै सार्वजनिक गरिएको छ । राज्यकोषमा करोडौै आम्दानी थपिने यस्ता विषयमा तपाईंको असन्तुष्टि कतै तपाईं निकट कुनै व्यापारिक घरानाको स्वार्थ पूरा नहुँदाको चिन्ता त होइन रु स्वास्थ्य सङ्कटका बेला केही स्वास्थ्य सामग्री खरिदमा जोडिएको ओम्नी समूहका बारेमा अख्तियार र अदालतले अनुसन्धान अगाडि बढाइरहेकै छन् । नियमसम्मत ढङ्गले सार्वजनिक खरिद गर्नु पर्ने अधिकारीले गरेको खरिदमा अनियमितता भएको रहेछ भने दोषीले उन्मुक्ति पाउने छैनन् । तर यसलाई राजनीतिकरण गरेर तपाईंले आफूभित्रको तुषमात्रै पोख्नुभएको छ । बजेटमा राजस्वका दररेट पहिल्यै चुहाइएको भन्ने आरोप फजुल हो । मैले त विगतमा भएका विभिन्न अपचलनहरुको उत्खनन गर्ने, दोषीहरुलाई कानुनी कार्बाहीको दायरामा ल्याउने र विगतमा फोहोर गरिएको स्थितिलाई सुधार्ने काम गरेको हुँ । सम्झौता गर्नेहरुलाई चोख्याउने र त्यसको उत्खनन गरेर कार्बाहीको दायरामा ल्याउनेलाई चााहिँ दोषी बनाउने ? विगतदेखिका अनेकौँ काण्डहरुमा वर्तमान सरकारलाई जबर्जस्ती मुछेर गरिने भ्रमपूर्ण प्रचारका पछाडि कसको हात छ भन्ने कुरा क्रमशः खुल्दै छ ।'