
काठमाडौँ, ३१ वैशाख – नेकपा (एमाले) आइतवार सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाता तथा निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद दिएको छ ।
अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भए पनि दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, हुम्ला, धादिङ, दैलेखलगायत जिल्लाका विभिन्न मतदान केन्द्रमा सत्ताधारी पार्टीबाट भएका हिंसा तथा बुथ कब्जाको प्रयास भएको एमालेको आरोप छ ।
एमालेका महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचनको न्यूनतम मापदण्ड र निर्वाचन आचारसंहिता विपरीत भएको मतदान बदर गर्दै ती ठाउँमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।
जबर्जस्ती र बुथ कब्जाबाट आउने परिणाम जनताका लागि स्वीकार्य नहुने र यस्ता घटनाले लोकतन्त्रप्रति नै वितृष्णा बढाउने एमालेको ठहर छ ।