
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ । पुल उद्घाटनका क्रममा तनहुँमा प्रहरीले नियन्त्रणमा लिएका नेता पौडेललाई केही बेरअघि रिहा गरिएको कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले लोकान्तरलाई जानकारी दिए ।
प्रहरीले पौडेलसँगै पक्राउ परका कांग्रेसका अन्य कार्यकर्तालाई पनि रिहा गरेको छ । रिहा भएलगत्तै नेता पौडेल कार्यकर्तासहित दमैलिस्थित पार्टी कार्यालय पुगेका छन् ।
बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। नेता पौडेलको गिरफ्तारीको विषयमा सर्वत्र विरोध भएपछि प्रहरीले पौडेलसँगै पक्राउ परको अन्य कार्यकर्तालाई पनि रिहा गरेको छ ।
तालघरे र दुम्सी जोड्ने पुलको उद्घाटन नेता पौडेलले गर्ने कार्यक्रम तय भएको थाहा पाएपछि जिल्ला प्रशासनले पुलको उद्घाटन रोक्न भनेको थियो।
झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गर्दै जिल्ला प्रशासनले पुल उद्घाटनमा अवरोध गरेको कांग्रेसको आरोप छ। नेता पौडेललाई पक्राउ गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।