
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न आज शनिवार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको मंसिर १७ गतेको बैठकले आजका लागि बैठक बोलाएको थियो । बुधवारको बैठकमा ओली सहभागी नभएपछि विवादित एजेन्डामा छलफल भएको थिएन ।
आजको बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिखित धारणा पेश गर्ने तयारी गरिरहेका नेकपा स्रोतले जनाएको छ । प्रचण्डले गत बुधवारकै बैठकमा लिखित धारणा पेश गर्ने तयारी गरेपनि ओली सहभागी नहुँदा पेश गर्न पाएनन् । आजको सचिवालय बैठकमा ओलीलाई अनिवार्य उपस्थित हुन बुधवारको बैठकले आग्रह गरेको थियो ।
प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा एउटा दस्तावेज पेश गरेका थिए । मंसिर १३ गतेको बैठकमा ओलीले ५३ बुँदे जवाफ सहितको प्रतिवेदन पेश गरेका थिए । गत शनिवारको बैठकमा प्रचण्डले ओलीको दस्तावेज दम्भले भरिएको पोको भएको प्रारम्भिक टिप्पणी गरेका थिए ।
ओली र प्रचण्ड दुवै प्रस्तावमाथि छलफल गरेर स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा लैजानुपर्ने प्रचण्ड र माधव नेपाल समूहको माग छ । ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान लिएको छ । ओलीले प्रचण्डको प्रस्ताव सचिवालयले खारेज गरेर भदौ १६ गतेको सहमतिमा फर्किनुपर्ने लिखित प्रतिवेदनमा उल्लेख गरेका छन् ।
नेकपा स्थायी कमिटी बैठक मंसिर १८ गते बोलाइएको भएपनि भोलि २१ गतेका लागि सारिएको छ । केन्द्रीय कमिटी बैठक मंसिर २५ गते बोलाइएकोमा हालसम्म यथावत नै छ ।