२६ असार २०८३, शुक्रबार

आनिक राना : छोरा भएर जन्मिए तर ‘आन्टी’ भनेर बोलाउँदा खुशी

मंसिर २०, २०७७
आनिक राना : छोरा भएर जन्मिए तर ‘आन्टी’ भनेर बोलाउँदा खुशी

उनी जन्मिँदा परिवारमा खुशीको कुनै सीमा थिएन । भारतीय सेनामा कार्यरत रुपन्देहीको तिलोत्तमा–८ ज्योतिनगरका रनबहादुर राना र लालसरीको कोखबाट जन्मिएका यामबहादुर राना छोराका रूपमा जन्मिएका थिए ।

रानाको बाल्यकाल रुपन्देहीमै बित्यो । परिवारको आर्थिक अवस्था राम्रो नै भएपछि उनलाई तिलोत्तमाकै कुँवरवर्ती बोर्डिङ स्कूलमा भर्ना गरियो र पढाइ शुरू भयो । पढाइमा पनि उनी तेजिलो ।

सधै ‘टप फाइभ’ भित्र पर्थे । जब उनी ६ कक्षामा पुगे, अन्य पुरुष वा बालकभन्दा आफू फरक भएजस्तो महसूस हुन थाल्यो । सँगै पढ्ने केटा साथीहरूभन्दा उनी केटीसाथीसँग नजिकिन मन हुँदै गयो । उनले आफू आफ्नो पहिचान नभएको जस्तो महसूस गरे ।

केटीभन्दा बोलीमा केही फरक, केटी साथीसँग नजिकिँदा उनलाई साथीभाइले अनेक उपनाम दिएर जिस्काउँथे । कसैले ‘छक्का’ त कसैले ‘हिजडा’ भन्थे । त्यस्ता शब्दले जिस्क्याउँदा उनलाई असाध्यै पीडाबोध हुन्थ्यो । कठिनाइका साथ पढ्दै उनले एसएलसी उत्तीर्ण गरे, त्यो पनि प्रथम श्रेणीमा । 

आफू जन्मँदा छोरा भएको र हुर्कंदै बढ्दै जादाँ छोरीको हाउभाउ स्वभाव देखेर परिवारमा उनलाई बुवाआमाले ‘तलाइँ हामीले यस्तो जन्माएको होइन, कसरी यस्तो स्वभाव देखाउन थालिस्’ भन्न थाले । 

पारिवारिक यातनादेखि छरछिमेकले पनि छिःछि र दूरदूर गर्ने अवस्था आयो । त्यही अवस्थामा पनि पढाइलाई निरन्तरता दिने गरी राममणि क्याम्पसमा अंग्रेजी विषय लिएर आईए पढ्न शुरू गरे उनले । उनको स्वभाव र आनीबानी देखेर परिवारले उनलाई शब्द र व्यवहारले लखेटिरहे । त्यसपछि उनले कलेज पढ्न सक्ने अवस्था आएन । परिवारको यातना र दुर्व्यवहारले उनी १६ वर्षको उमेरमा पढाइ, समाज र परिवार छाडेर घरबाट निस्के ।

छोराको रूपमा आफ्नो पहिचानले उनलाई उकुसमुकुस भइरहँदा बुटवलमा रहेको परिवर्तनका लागि महिला संस्था (वाच) मा काम गर्न थाले । उनी कोठा भाडामा लिएर बस्न थाले । मासिक ६ हजार रुपैयाँ कमाउँथे ।

संस्थामा कार्यरत शर्मिला श्रेष्ठले रानाको हाउभाउ र स्वभाव देखेर उनलाई काठमाडौंस्थित ब्लू डायमण्ड सोसाइटीमा सम्पर्कमा जान अनुरोध गरिन् । राना संस्था खोज्दै काठमाडौं पुगे । त्यहाँ उनले ब्लू डायमण्ड सोसाइटीका अध्यक्ष सुनीलबाबु पन्त र हालका अध्यक्ष पिंकी गुरुङलाई भेटे ।

उनलाई बल्ल आफ्नो अभिभावक पाएजस्तो महसूस भयो । उनी सोही संस्थामा आवद्ध भएर काम गर्न थाले । बिस्तारै आफ्नो शारीरिक अवस्थाबारे बुझेपछि पहिचान खुलाएरै आफूजस्ता धेरैलाई सार्वजनिक गर्ने सोच बनाइन् उनले । आफू पनि ‘सर्ट पाइट’ होइन, सारी ब्लाउज, कुर्था सुरुवाल, चुरापोते लगाएर हिँड्न थालिन् । 

उनलाई यसैमा बढी खुशी लाग्थ्यो । त्यसपछि तेस्रोलिंगी महिलाका रूपमा उनले आफूलाई यामबहादुर नभई आनिक रानामगरका रूपमा पहिचान खुलाइन् । पहिचान खुलाएपछि उनले सोसाइटीका विभिन्न पदमा रहेर काम गर्न थालिन् ।

उनको नाम ६ कक्षामा पढ्दा शिक्षकले राखिदिएका थिए । उनलाई त्यो आनिक नाम नै मनपर्‍यो, त्यसैलाई प्रयोग गरिन् । शारीरिक रूपमा उनले आफ्नो पहिचान खुलाइन् तर उनको नागरिकता ढाका टोपी लगाएको यामबहादुर राना अर्थात् पुरुषको नाममा थियो । त्यसले उनलाई गिज्याउँथ्यो । पहिचान एकातिर नागरिकता अर्कोतिर थियो ।

त्यति नै बेला सरकारले तेस्रो लिंगीले पनि आफ्नो पहिचान सहितको नागरिकता पाउने प्रावधान ल्यायो । उनले खोजेजस्तै भयो । लिंगका आधारमा नागरिकता पाउँ भनेर उनी जिल्ला प्रशासन कार्यालय रूपन्देही पुगिन् ।

प्रशासनमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) थिए बालकृष्ण पन्थी । उनले आनिकलाई तेस्रो लिंगी भएको डाक्टरी प्रमाण लिएर आउन भने । संविधानले दिएको लिंगका आधार नागरिकता पाउनबाट वञ्चित गराइएको भन्दै मानवअधिकार आयोग हुँदै गृह मन्त्रालयसम्म पुगिन् उनी । कतै सुनुवाइ नभएपछि ब्लू डायमण्ड सोसाइटीका अध्यक्ष पन्त, गुरुङ र रानाले ७५ वटै जिल्लाका प्रजिअलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट हाले । २०७२ माघमा सर्वोच्चले उनीहरूको पक्षमा फैसला गरिदियो ।

फैसलापछि उनले प्रशासनबाट यामबहादुरको नाममा रहेको नागरिकता परिवर्तन गरेर आनिक बनाइन् । राहदानी पनि आनिककै नाममा बन्यो । त्यसपछि अधिकारको उनको लडाइँ पूरा भयो ।

बुटवलमा उनलाई नचिन्ने सायद कमै होलान् । उनलाई शुरूमा अंकल र दाइ भन्नेहरू आज आन्टी र दिदी भनेर बोलाउँछन् । आन्टी र दिदी भनेर सम्बोधन सुन्दा सबैभन्दा खुशी लाग्ने गरेको आनिकाले बताइन् ।

हाल आनिक सशक्तीकरण नेपालको जिल्ला अध्यक्षका रूपमा काम गरिरहेकी छन् । रूपन्देहीलगायत जिल्लामा उनी आफ्नो समुदायको अधिकारकर्मीका रूपमा परिचित छन् । आफ्नो स्थान अन्य नागरिकसरह स्थापित गर्न अघि बढिरहेको आनिक बताउँछिन् ।

उनी बुटवलको बुद्ध सामुदायिक टेलिभिजनमा परिवर्तन नामक कार्यक्रम सञ्चालन गर्छिन् । पहिचान र सामाजिक चेतनाको विषयमा बहस गर्छिन् । अपहेलनाले आफूजस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका विषयमा आवाज उठाउन सघाएको उनी बताउँछिन् । 

आनिक भन्छिन्, ‘राज्यले पहिचान त दियो तर हामीजस्तै यौनिक तथा अल्पसंख्य समुदायको गाँस, बास र कपासको व्यवस्था गरेको छैन । राज्यका सबै तहमा हाम्रो पहुँच सुनिश्चित गराइएन । पहिचान दिए पनि हामीले सबै लान्छना सहनुपर्छ । काम कसैले दिँदैनन्, रोजगारी दिँदैनन् ।’ 

लामो लकडाउनको समस्यामा सबैभन्दा अप्ठ्यारो अवस्था तेस्रोलिंगी समुदायले भोग्नुपरेको उनले बताइन् । उनले भनिन्, ‘राज्यले हामीलाई रोजगारी दिँदैन । निजी क्षेत्रमा काम दिन आनकानी गर्छन् । त्यसपछि सडक हाम्रा साथीहरूको सहारा बन्न पुग्छ । सडकमा जानबाट रोक्न राज्यले हरेक तहमा हाम्रो पहुँचको व्यवस्था गर्नुपर्छ ।’

विश्वका धेरै राष्ट्रमा राज्यका सबै तहमा तेस्रोलिंगी समुदायलाई रोजगारीको ग्यारेन्टी गरेको र राज्यले तेस्रो लिंगी समुदायलाई अन्य भने पनि देश र समुदायको नागरिक रहेको उनले बताइन् । नेपालमा करीब ९ लाख समुदाय यौनिक तथा अल्पसंख्यक समुदाय रहेको आनिकको भनाइ छ । ‘धेरै अझै पनि खुल्न सकेका छैनन्, परिवार र समाजको डरले,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्