०४ साउन २०८३, सोमबार

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू

मंसिर २०, २०७७
नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक शुरू भएको छ ।

बैठक दिउँसो १ बजेका लागि तय भए पनि ढिला गरी शुरू भएको हो ।

बैठकअघि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा एक्लाएक्लै वार्ता गरेका छन् । पार्टीभित्र विवाद चर्किंदै गएपछि गत कात्तिक २५ गतेयता दुवै अध्यक्षबीच एक्लाएक्लै वार्ता हुन सकेको थिएन । त्यसयता भएका पार्टी सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव र जवाफले विवाद बढाउँदै लगेको छ ।

ओलीसँग वार्ता गर्न अध्यक्ष प्रचण्ड दिउँसो १२ बजेदेखि बालुवाटार पुगेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको मंसिर १७ गतेको बैठकले आजका लागि बैठक बोलाएको थियो । बुधवारको बैठकमा ओली सहभागी नभएपछि विवादित एजेन्डामा छलफल भएको थिएन । आजको सचिवालय बैठकमा ओलीलाई अनिवार्य उपस्थित हुन बुधवारको बैठकले आग्रह गरेको थियो ।

प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा एउटा दस्तावेज पेश गरेका थिए । मंसिर १३ गतेको बैठकमा ओलीले ५३ बुँदे जवाफ सहितको प्रतिवेदन पेश गरेका थिए । गत शनिवारको बैठकमा प्रचण्डले ओलीको दस्तावेज दम्भले भरिएको पोको भएको प्रारम्भिक टिप्पणी गरेका थिए ।

ओली र प्रचण्ड दुवै प्रस्तावमाथि छलफल गरेर स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा लैजानुपर्ने प्रचण्ड र माधव नेपाल समूहको माग छ । ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान लिएको छ । ओलीले प्रचण्डको प्रस्ताव सचिवालयले खारेज गरेर भदौ १६ गतेको सहमतिमा फर्किनुपर्ने लिखित प्रतिवेदनमा उल्लेख गरेका छन् । 

नेकपा स्थायी कमिटी बैठक मंसिर १८ गते बोलाइएको भएपनि भोलि २१ गतेका लागि सारिएको छ । केन्द्रीय कमिटी बैठक मंसिर २५ गते बोलाइएकोमा हालसम्म यथावत नै छ ।

salt training

कमेन्ट गर्नुहोस्