
काठमाडौं, १० पुस — यातायात व्यवस्था विभागले सोमवारदेखि अनलाइनबाटै सवारी चालक अनुमति पत्रको परीक्षा फर्म भर्ने व्यवस्था मिलाउन लागेको छ । तपाईं पनि अनलाइनबाटै फर्म भरेर लाइसेन्स निकाल्ने सोचमा हुनुहन्छ होला, तर ख्याल गर्नुहोस्, हिस्स पर्नुहोला !
यातायात व्यवस्था विभागले अनलाइन लाइसेन्सका विषयमा एउटा सूचना जारी गरेर अनलाइनबाट भरिने लाइसेन्सको सीमा निर्धारण गरिएको छ ।
यातायात व्यवस्था विभागले जारी गरेको सूचना अनुसार सोमबारदेखि सो सेवा उपलब्ध हुने छ । तर हालको लागि मोटरसाइकल र स्कूटरको लाइसेन्स फर्म मात्रै अनलाइनबाट भर्न सकिन्छ ।
अहिलेलाई मोटरसाइकल र स्कूटरका गरेर जम्मा पाँच सय जनाले मात्रै हरेक दिन लाइसेन्सको फर्म भर्न सक्छन् ।
यातायात व्यवस्था विभागले जारी गरेको सूचनाका अनुसार हाललाई एकान्तकुनामा रहेको यातायात व्यवस्था विभागको कार्यालयको लागि मात्रै सो फर्म भर्न सकिन्छ ।
साथै फर्म भरेपछि तोकिएको दिनमा कार्यालयमा उपस्थित नभएमा सो फर्म आफै रद्द हुने यातायात व्यवस्था विभागले जनाएको छ । साथै निवेदकले भरेको विवरण गलत भएमा निवदेकलेनै जिम्मेवारी लिनुपर्ने विभागले जनाएको छ ।
