
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने उनीनिकट नेता सुवासचन्द्र नेम्वाङले बताएका छन् ।
आइतवार अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने तय भएको छ । बैठकका लागि सबै स्थायी कमिटी सदस्यहरूलाई सूचना पठाइएको छ ।
'पहिल्यैदेखि तय भएको बैठकमा प्रधानमन्त्री उपस्थित हुने नहुने भन्ने प्रश्नै छैन,' नेम्वाङले लोकान्तरसँग भने, 'हामीलाई सूचना आएको छ, हामी जान्छौं ।'
शनिवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्थायी कमिटी बैठकको आवश्यकता नै नभएको टिप्पणी गरेका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सचिवालय बैठकमा पेश गरेको आरोपसहितको प्रस्ताव फिर्ता लिनुपर्ने माग ओलीले गरेका थिए ।
तर दुवै अध्यक्षको प्रतिवेदनमाथि स्थायी कमिटीमै छलफल गर्ने भन्दै सचिवालयका बहुमत सदस्यहरूले आज तय गरिएको स्थायी कमिटी बैठक समयमै बस्नुपर्ने धारणा राखेका थिए ।