
शनिबार देशका विभिन्न ठाउँमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२१ मा बस्दै आएका ५० वर्षीय बद्रीबहादुर धिताललाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै, ओखलढुंगाकी १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चम्पादेवी गाउँपालिका–६ बस्ते ३४ वर्षीय अम्मरबहादुर नेपालीलाई पनि शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अम्मरले बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि प्रहरी चौकी चप्लुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । यस्तै, तेह्रथुमकी ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फेदाव–३ जलजले बस्ने २५ वर्षीय सिंहराज खापुङलाई पनि प्रहरीले शनिबार बेलुकी पक्राउ गरेको जनाएको छ ।
मदिरा सेवन गरी शुक्रबार दिउँसो ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले खापुङलाई पक्राउ गरेको हो ।