
सन ह्युङ–मिन र ह्यारी केनले गरेको गोल मदतमा टोटेनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई २–० ले हराएको छ । उत्तरी लन्डन डर्बीमा प्राप्त यो जितपछि टोटेनहम अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । केनकै पासमा सनले १३औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।
यो उनको सिजनको दसौं लिग गोल रह्यो । त्यसयता केनले दोस्रो गोल थपे । यो जितपछि जोसे माउरिन्होको टोटेनहमको ११ खेलबाट २४ अंक भएको छ । सिजनको पहिलो लिग खेल गुमाएयता टोटेनहम अपराजित छ । सन् १९६१ पछि टोली लिग उपाधि जित्ने अभियानमा छ । कोरोना महामारीपछि पहिलोपल्ट घरेलु मैदानमा टोटेनहमले दर्शकको साथमा खलेको हो । यसै सातामात्र प्रिमियर लिगमा दर्शकलाई स्वास्थ्य सावधानीका साथ मैदान प्रवेशको अनुमति दिइएको थियो । स्पर्सको खेलमा झन्डै २ हजार दर्शक मैदानमा थिए ।
कमजोर प्रदर्शन गरिरहेको आर्सनल भने १३ अंकसहित १५औं स्थानमा छ । खेलमा पनि टोटेनहम आफ्नो छिमेकी प्रतिद्वन्द्वीमाथि पूर्णतः हाबी रह्यो ।
त्यस्तै मोहम्मद सलाहले एक गोल गर्दै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि लिभरपुलले उल्भसमाथि ४–० को सजिलो जित निकाल्यो । यो जितपछि लिभरपुलको पनि २४ अंक भएको छ ।
टोटेनहम भने गोल अन्तरले शीर्षस्थानमा रहन सफल भयो । कोरोना महामारीपछि पहिलोपल्ट दर्शकले प्रवेश पाएको एनफिल्डमा लिभरपुलको जितमा सलाहसँगै जर्जिनियो विज्नाल्डम र जोएल मटिपले गोल गरेका थिए । अर्को एक गोल नेल्सन सेमेडोको नाममा आत्मघाती रह्यो । उल्भस १७ अंकसहित दसौं स्थानमा रह्यो । लिग तालिकामा चेल्सीको २२ र लेस्टरको २१ अंक भएको छ ।
स्पेन
म्याड्रिड– रियल सोसिडाडले आइतबार स्पेनी ला लिगामा १० खेलाडीमा समेटिएको एलाभेससँग गोलरहित बराबरी खेलेको छ । एलाभेसको रक्षापंक्ति तोड्न नसकेपछि सोसिडाड अंकतालिकाको शीर्षस्थानमा उक्लन असफल रह्यो । यसै नतिजाका कारण एट्लेटिको म्याड्रिड शीर्षस्थानमा कायम
रह्यो । एलाभेसले ६१औं मिनेटमा मिडफिल्डर रोडरिगो बाटागलियालाई सिधा रातो कार्डमा गुमाएको हो । सोसिडाडको १२ खेलबाट २५ अंक भएको छ । टोली दोस्रो स्थानमा छ । १० खेलमात्र खेलेको एट्लेटिकोको २६ अंक छ । अर्को खेलमा भिल्लारियल र इल्चेले गोलरहित बराबरी खेले ।
इटाली
मिलान– इटालीको सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले आइतबार साम्पडोरियामाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ । यस सिजनको लिगमा मिलान अहिलेसम्म अपराजित छ । यो जितपछि मिलानले शीर्षस्थानमा ५ अंकको अग्रता खोलेको छ ।
मिलानका लागि फ्रान्क केसी र सामु कास्टेलेजोले गोल गरे । साम्पडोरियाको तर्फबाट एल्बिन एकेडेलले एक गोल फर्काए । चोटका कारण ज्लाटन इब्राहिमोभिचलाई गुमाइरहेको मिलानको १० खेलबाट २६ अंक भएको छ । त्यसयता इन्टर मिलानको २१ र डिफेन्डिङ च्याम्पियन युभेन्ट्सको २० अंक छ । साम्पडोरियाले ११ अंक बनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।