
विकास निर्माणमा देखिएका समस्या पहिचान गरी समाधान खोज्ने उद्देश्यसहित राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक शुरू भएको छ ।
मन्त्रालयहरूको चौमासिक प्रगति विवरण प्रस्तुति सहितको सोमबार शुरू भएको बैठकले मन्त्रालयहरूद्वारा सम्पादन गरिएका विकास निर्माणका कार्यक्रमको मिहीन समीक्षा गरिरहेको छ ।
उपसमितिका अध्यक्ष एवं राष्ट्रिय रोजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयले आफ्नो प्रथम चौमासिक प्रगति विवरणका समीक्षा गरियो ।
आयोगका उपाध्यक्ष प्रा.डा. कँडेलले बैठकमा मन्त्रालयहरूद्वारा प्रस्तुत गरिएको प्रगतिबारे पुनः छलफल गरी संयुक्त रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने राष्ट्रिय विकास समस्या समाधान समितिको ४८औँ बैठकमा पेस गरिने जानकारी दिए । बैठक यो महिनाको अन्तिम साता बस्ने छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे (ऊर्जा), सिँचाइ सचिव मधुसूदन अधिकारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङ र युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आ–आफ्नो मन्त्रालयको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४०.९४ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत पूरा भएको सचिव श्रेष्ठले प्रस्तुत गरे । जसअनुसार सडक विभागको वित्तीय प्रगति ४३ प्रतिशत, भौतिक प्रगति ४६.४ प्रतिशत, रेल विभागको वित्तीय प्रगति २७.६३ प्रतिशत र भौतिक प्रगति २७.६३ प्रतिशत, यातायात व्यवस्था विभागको वित्तीय प्रगति २.३२ प्रतिशत, नेपाल पानीजहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको छ । त्यस्तै रक्षा मन्त्रालयको वित्तीय प्रगति ३४.५७ प्रतिशत र भौतिक ३३.६३ प्रगति रहेको सचिव पाण्डेले प्रस्तुत गरेका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वित्तीय प्रगति ६७.७३ प्रतिशत र भौतिक प्रगति ७६.७४ प्रतिशत रहेकोमा ऊर्जातर्फ वित्तीय प्रगति ७८ प्रतिशत र भौतिक प्रगति ७७.८८ प्रतिशत, जलस्रोत तथा सिँचाइतर्फ वित्तीय प्रगति ४२.६६ प्रतिशत र भौतिक प्रगति ७३.६४ प्रतिशत रहेको सहसचिव नुर मोहम्मद खाँले प्रस्तुत गरेका थिए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वित्तीय प्रगति ३०.३८ प्रतिशत भएको सहसचिव बुद्ध गुरुङले प्रस्तुत गरेका थिए । त्यस्तै युवा तथा खेलकुद मन्त्रालयको वित्तीय प्रगति ८५.२२ प्रतिशत र भौतिक प्रगति ९५.१० प्रतिशत पूरा भएको सचिव रामप्रसाद थपलियाले प्रस्तुत गरेका थिए । बैठकमा सचिवहरूले विकास निर्माणका सवालमा भोग्दै आएका नीतिगत तथा कानुनी समस्या र आफ्नो मन्त्रालयको तर्फबाट राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गर्नुपर्ने एजेन्डासमेत छलफलका लागि प्रस्तुत गरेका थिए ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. कँडेलसहित आयोगका सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. दिलबहादुर गुरुङ, डा. उषा झा, मीनबहादुर शाही, डा. रामकुमार फुयाल, सदस्य सचिव केवलप्रसाद भण्डारी, प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रक कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायत कार्यालयका सम्बद्ध पदाधिकारीहरूको सहभागिता रहेको थियो । बैठक मङ्सिर २६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिए । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।