
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको तामझामका कारण पूर्व राजावादीहरू सल्बलाएको आरोप लगाएका छन् ।
मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा १२ बुँदामा लिखित धारणा राख्दै पौडेलले अहिलेको परिस्थिति आउनुमा सरकारको कमजोरी रहेको बताएका हुन् ।
‘राजा के कारणले हटाइयो, त्यसलाई बिर्सेर राष्ट्रपतिको जुन तामझाम देखिएको छ, त्यसले प्रभाव पारेको छ आजको परिस्थिति ल्याउन,’ पौडेलले सर्वदलीय बैठकमा भनेका छन् ।
नेता पौडेलले संसद्को अधिवेशन बोलाएर त्यहीँबाट संकल्प प्रस्ताव ल्याएर प्रतिगमनको धज्जी उडाउन प्रस्ताव गरेका छन् ।
‘संसद् अधिवेशन चाँडो बोलाउनुहोस्, प्रतिगामीको धज्जी त्यहीँबाट उडाइन्छ, संसदबाट संकल्प प्रस्ताव पारित गरौं,’ पौडेलको प्रस्ताव थियो ।
उनले आफूमाथि मंसिर १७ गते तनहुँमा भएको घटनाका बारेमा समेत जानकारी माग गरेका थिए ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले परिवर्तनविरोधी शक्ति सल्बलाउन लागेको भन्दै परिवर्तन पक्षधर शक्तिहरू एक हुनुपर्ने बताएका थिए ।