२४ जेठ २०८३, आइतबार

सिकाइ सहजीकरणका लागि ‘इ क्लास नेपाल’

मंसिर २३, २०७७
सिकाइ सहजीकरणका लागि ‘इ क्लास नेपाल’

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैकल्पिक सिकाइलाई सहजीकरण गर्न ‘इ क्लास नेपाल’ नामक मोबाइल एप्स विकास गरी सञ्चालनमा ल्याएको छ ।

सो एप्सको आज भर्चुअलरुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुभारम्भ गरे । उनले विद्यार्थीलाई सहज एवं सरल ढङ्गबाट विकसित सामग्रीको खोज गर्न, अध्ययन गर्न सकुन् भन्ने अभिप्रायसहित तयार गरिएको सो एप्सले कोभिड–१९ पछि प्रभावित दूरराजका बालबालिकालाई लाभ पुग्ने बताए ।

उनले सरकारले शैक्षिकसत्रलाई खेर जान नदिनका लागि विभिन्न निर्देशिका र शैक्षिक सामग्रीको विकास गरी वितरण गर्दै आएको जानकारी दिए ।

महामारीपछि मन्त्रालयले गत जेठ १८ गते वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी विद्यार्थीको सिकाइ अवस्थाको वर्गीकरणसहित सिकाइका वैकल्पिक उपायको प्रयोग गर्न मार्गप्रशस्त गरेको थियो ।

केन्द्रमार्फत सिकाइ पोर्टल विकास गरी विद्यालय शिक्षाका सबै पाठ्यपुस्तकसहितका सामग्री उक्त पोर्टलमार्फत अध्ययन गर्न सकिने व्यवस्था पनि मिलाएको थियो भने श्रव्यदृश्य पाठहरू निर्माण÷विकास गरी क्रमशः रेडियो र टेलिभिजनबाट प्रशारण गराएको थियो ।

केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले अनलाइन पद्दतिमा सामग्रीको सहज उपलब्धता, कम गतिको इन्टरनेटबाट पनि हेर्न र अध्ययन गर्न सकिने सामग्रीको विकास, टिभी र कम्प्युटरमा पहुँच नभएका कक्षा १० सम्मका विद्यार्थीलाई सहज उपलब्ध हुनसक्ने प्रणाली निर्माण गर्न प्राप्त सुझावका आधारमा सो एप्स विकास गरिएको बताए ।

एप्समा केन्द्रबाट विकास गरी टेलिभिजनबाट प्रशारण गरिएका सबै पाठहरू, पोर्टलमा रहेका पाठ्यपुस्तकलाई अझ सरल ढङ्गबाट अध्ययन गर्न मिल्ने तथा  शिक्षकका लागिसमेत उपयोगी हुने गरी विषयगत/कक्षागत शिक्षक निर्देशिका र पाठ्यक्रम समावेश गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्