
अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट आज एक जनाको रु चार लाख रकम लुटेर लगेका छन् ।
लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका– २३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएका समूहले हतियार देखाएर रकम लुटेका हुन् ।
इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक सुवास खतिवडाले रकम लुटिएको थाहा पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान गरिएको जानकारी दिए । पीडितको प्रारम्भिक बयानबमोजिम जनउत्थान सहकारीमा समेत गएर बुझ्दा रकम झिकेको पुष्टि भएको उल्लेख गर्दै उनले सहकारी सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान गरिने बताए ।