
काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गर्ने भएको छ ।
महानगरपालिकाले आफ्नो २६ औँ वार्षिकोत्सवको अवसर पारेर ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्ने भएको हो । आज बसेको २६औँ महानगर दिवस मूल समारोह समितिको बैठकमा कामपाका प्रमुख विद्यासुन्दर शक्यले रोग लागेपछि मात्रै उपचारका लागि अस्पताल जाने नभई रोग नै लाग्न नदिने वातावरण सिर्जना गर्नका लागि महानगरपालिकाले दक्ष चिकित्सकको टोलीसहित टोलटोलमै पुगेर जनचेतनामूलक कार्यक्रम गर्नेलगायतको अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
नागरिकको अभिमतका लागि तीन दिनसम्म महानगरका कालिमाटी चोक, कलङ्की, बानेश्वर, कोटेश्वर, महाराजगञ्ज, बालाजु, वसन्तपुर, रत्नपार्क, न्यूरोड, स्वयम्भू, लैनचौर, क्षेत्रपाटी, बागबजार, पुतलीसडक, त्रिपुरेश्वर, भाटभटेनीलगायतका विभिन्न ३० स्थानमा बुथ राख्ने तयारी कामपाको छ ।