१३ असार २०८३, शनिबार

बेलायती प्रधानमन्त्री जोन्सन ब्रसेल्स पुगे, ब्रेक्जिट गतिरोध अन्त्य गर्न उच्चस्तरीय पहल

मंसिर २५, २०७७
बेलायती प्रधानमन्त्री जोन्सन ब्रसेल्स पुगे, ब्रेक्जिट गतिरोध अन्त्य गर्न उच्चस्तरीय पहल

युरोपेली संघबाट बेलातयको बहिर्गमन (ब्रेक्जिट) पछिको व्यापार सम्झौताबारे निकास खोज्न दुवै पक्ष अन्तिम प्रयासमा जुटेका छन् । त्यसका लागि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन बुधबार ब्रसेल्स पुगेका छन् ।

जोन्सनले ईयूसँग व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ भएको बताएका थिए । ब्रेक्जिटपछिको व्यापार वार्तामा गतिरोध अन्त्य गर्न जोन्सनको भ्रमण तय भएको हो । जोन्सनले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेनसँग वार्ता गर्ने बेलायती अखबारले उल्लेख गरेका छन् । यसअघि दुई नेताबीच पटक–पटक टेलिफोन संवाद भए पनि निकास निस्किएको छैन ।

दुवै पक्षका उच्च अधिकारीहरूबीच कैयौं वार्ता निरर्थक भएपछि जोनसनले २७ ईयू राष्ट्रका नेताको प्रतिनिधित्व गर्ने उर्सुलासँग ‘डिनर टक’ गर्ने बताइएको छ । ब्रसेल्स भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री जोन्सनले व्यापार वार्ताले सफलता पाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका थिए ।

‘तत्कालका लागि व्यापार सम्झौता निकै कठिन पनि छ,’ उनले भने । निश्चित सीमा नाघेर कुनै पनि समझदार, स्वतन्त्र सरकार वा देशबाहिर जान नसक्ने उनको धारणा छ ।

बेलायतले डिसेम्बर ३१ मा सकिने ब्रेक्जिट संक्रमणको अवधि थप गर्ने सम्भावना यसअघि नै अस्वीकार गरिसकेको छ । बरु समय र सम्भव भएसम्म आफू वार्ता गर्न तयार रहेको बेलायतको भनाइ छ ।

युरोपेली संघ (ईयू) का प्रमुख वार्ताकार मिसेल बार्नियरले बेलायतसँगको व्यापार वार्तामा ईयू एकताबद्ध हुने र कुनै अनावश्यक त्याग गर्न नसकिने बताएकाले गतिरोध अन्त्य त्यति सहज नभएको जानकारहरू बताउँछन् ।

विगतमा भएका धेरै चरणको वार्ताले पनि माछा मार्ने अधिकार, पारस्परिक समान कानुन, पुलिस तथा सुरक्षाका केही विषयमा सहमति हुन सकेको छैन ।

माछा मार्ने व्यवसाय बेलायतको कुल ग्राहस्थ्य उत्पादनको शून्य दशमलब एक प्रतिशत रहे पनि ऐतिहासिक रूपले फ्रान्स र बेलायतबीच यसमा प्रतिष्ठाको विषय रहिआएको छ ।

पर्यावरण तथा आपसी सद्भावका लागि केही वर्षदेखि ईयूको समुद्रमा कोटा प्रणालीबाट माछा मार्ने काम हुँदै आएको छ । पारस्परिक समान कानुनमा सहमति नभए भन्सार तथा अन्य क्षेत्रमा असर पर्ने हुनाले यसमा सहमति नभए ‘नो डिल’ तर्फ उन्मुख हुनेछ ।

दुवै पक्षले राजनीतिक रूपमा जेजस्तो प्रतिक्रिया दिए पनि सहमतिको विकल्प नरहेको कतिपय विश्लेषकहरू बताउँछन् । उत्तरी आयरल्यान्डको सम्भावित समस्या तथा ब्रेक्जिट बहिर्गमन विषयमा बेलायतले लचिलो हुने संकेत गरिसकेको छ । ईयू र बेलायतलाई सहमतिमा आउन बहुमत व्यवसायीहरूको चर्को दबाब छ । कान्तिपुर दैनिकमा नवीन पोखरेलले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्