
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले लिखित आरोप–प्रत्यारोप स्थायी कमिटी बैठकमा पुगेका बेला सहमति खोज्न बुधबार करिब दुई घण्टा कुराकानी गरेका छन् । आरोपपत्रका कारण आन्तरिक विवाद उत्कर्षमा पुगेपछि दुई अध्यक्षबीच संवाद टुटेको थियो । स्थायी कमिटी बैठक एक साताका लागि रोकिएपछि उनीहरू बुधबार पहिलो पटक औपचारिक संवादमा बसेका हुन् ।
भेटमा ओलीले यसअघि जस्तै लिखित आरोप फिर्ता लिई मिलेर जान अर्का अध्यक्ष दाहालसँग प्रस्ताव गरेका थिए । दुई पार्टीबीच एकता भएको र त्यो एकताका पक्षधरहरूबीच सहकार्यले नै एकता जोगिने भन्दै उनले लिखित आरोप फिर्ता लिई साझा धारणा बनाएर जान प्रस्ताव गरेको स्रोत जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीचको भेट पार्टीकै विषयमा केन्द्रित भए पनि यसअघिको भन्दा नयाँ परिस्थिति सिर्जना नभएको बताए । उनले आरोपपत्र फिर्ता लिनुपर्ने प्रधानमन्त्रीको भनाइ यथावत् रहेको र त्यो फिर्ता भएपछि मात्र अरू विषयमा अघि बढ्ने सम्भावना रहेको जनाए । ओलीसँग बुधबार भएको भेटमा दाहालले स्थायी कमिटीमा पुगिसकेको विषयलाई अब त्यहींबाट टुंगो लगाउनुपर्ने अडान दोहोर्याए । पार्टी एकताको पक्षमा आफू पनि रहेको तर पार्टीभित्रको पद्धति र प्रक्रियामा छिरेका विषय त्यहींबाट टुंगो लगाएर जानुपर्ने उनको तर्क थियो ।
पछिल्लो समय ओलीसँग वरिष्ठ नेता माधव नेपाल दाहालभन्दा बढी रुष्ट छन् । ओलीले बढी पेलेको र आफ्नो पक्षको अस्तित्व नस्विकारेको बुझाइ नेपालको छ । जसरी पनि ओलीलाई एक कदम पछाडि पार्नुपर्ने उनको अडान छ । नेपालको मतमा दाहाललगायत सचिवालयका बहुमत सदस्य एकजुट छन् । त्यसैले दाहाल विगतको जस्तो ओलीसँगको मात्र भरोसा र सहमतिबाट नचल्ने मनस्थितिमा छन् । उनले बुधबार पनि पार्टीभित्रका सबै विषयमा सहमति हुनुपर्ने र इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने तथा यसका लागि त्याग गर्नुपर्ने भनी लिखित प्रस्तावमा राखेको धारणा नै ओलीसमक्ष राखेका थिए ।
नेताहरूले पार्टी एकता जोगाउनका लागि नै ओली र दाहालबीचको संवाद भइरहेको दाबी गरे । तर अहिले दुई जना मात्र मिल्दा हुने देखिएको छैन । वरिष्ठ नेता झलनाथ खनालले पार्टी पद्धति र विधिपूर्वक हुने निर्णयहरूले मात्र पार्टी एकतालाई मजबुत बनाउने बताए । ‘दुई अध्यक्षबीच सहमति गर्नका लागि विगतमा पटकपटक छाडिदिएका हौं तर उहाँहरूले नै निकास निकाल्न नसकेपछि सबै विषय सचिवालय हुँदै स्थायी कमिटीमा पुगेको छ । अब त्यहीं छलफल गरेर टुंगो लगाउनुपर्छ,’ उनले भने ।
स्थायी कमिटीका नेताहरूबीच पनि औपचारिक छलफल र सहमति खोज्ने विन्दुको खोजी भइरहेको छ । यसका लागि नेकपाभित्र पूर्वमाओवादी समूहका तर ओलीसँग पनि समदूरीको सम्बन्ध राख्दै आएका गृहमन्त्री रामबहादुर थापा, नेताहरू हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायतले दुई अध्यक्षलाई मिलाएर लैजान लबिइङ गरिरहेका छन् । गत सचिवालय बैठकमा गृहमन्त्री थापाले सहमतिका लागि कार्यदल बनाउन प्रस्ताव गरेका थिए । कार्यदलको नेतृत्व उपाध्यक्ष वामदेव गौतमलाई दिनुपर्ने उनको प्रस्ताव थियो । तर गौतमले नमानेपछि त्यो विषय अघि बढेन । कान्तिपुर दैनिकमा खबर छ ।