![हप्तामा २ दिन सार्वजनिक बिदा दिने पक्षमा सरकारी समिति [प्रतिवेदनको पूर्णपाठसहित]](https://lktcdn2.prixacdn.net/media/Public_Holiday..._bCWeYIpoP9.png)
हरेक हप्तामा २ दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ ।
समितिले बिहीवार एक प्रतिवेदन सार्वजनिक गर्दै बिदाबारे जानकारी गराएको हो ।
हप्तामा २ दिन सार्वजनिक बिदा दिने विषयमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।
समितिले आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व समेत वृद्धि हुने तथा सरकारी खर्च कटौतीमा सहयोग पुग्ने बताउँदै २ दिन बिदा दिन सिफारिस गरेको हो ।
प्रतिवेदनमा भनिएको छ, ‘हप्तामा २ दिन सार्वजनिक बिदा कायम गर्दा आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने देखिएको छ ।’
प्रतिवेदनकर्ता समेत रहेका मन्त्रालयका सहसचिव एवं समितिका सदस्य समेत रहेका कमलप्रसाद भट्टराईले छलफलका लागि प्रतिवेदन खुला गरिएको लोकान्तरलाई बताए ।
उनले भने, ‘अब सबैले यसका आधारमा सुझाव दिन सक्नेछन्, त्यसैका लागि यो प्रतिवेदन ओपन गरिएको हो ।’
सरकारले गठन गरेको समितिमा मन्त्रालयका सहसचिव भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव वासुदेव अधिकारी लगायत अर्थ मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी संलग्न छन् ।