
प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक आगामी मंसिर २८ गतेको लागि बोलाएको सन्दर्भमा सोही विषयमा छलफलका लागि भेटवार्ता भएको बालुवाटार निकट स्रोतले जनाएको छ । भेटका क्रममा ओलीले संवैधानिक नियुक्तिमा सहयोग गर्न आग्रह गरेको बताइएको छ । पार्टीभित्रको विवादका कारण नियुक्तिहरुमा पार्टीभित्रबाटै असहयोग हुन सक्ने भन्दै ओलीले देउवाको साथ खोजेको बताइएको छ ।
आजको छलफलमा देउवाले ओलीको आग्रहमाथि पार्टीभित्र थप छलफल गरेर आफू निष्कर्षमा पुग्ने बताएका थिए । शनिबार काँग्रेसले केन्द्रीय समिति बोलाएको र यसबारे छलफल हुने काँग्रेस स्रोतको भनाइ छ ।
संवैधानिक निकायमा हाल ३९ भन्दा बढी पद रिक्त छन् । हाल राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख पनि खाली छन् । यी पदमा काँग्रेसले समेत दावी गर्दै आएको छ भने भागबण्डा नमिल्दा लामो समय पदपूर्ति हुन सकेको छैन ।