१४ असार २०८३, आइतबार

माथिल्लो डोल्पामा दुई वर्षपछि चामल

मंसिर २८, २०७७
माथिल्लो डोल्पामा दुई वर्षपछि चामल

माथिल्लो डोल्पामा झन्डै दुई वर्षपछि चामल ढुवानी सुरु भएको छ । मुगुमकार्मारोङका जनताका लागि स्थापना गरिएको मुगुको पुलु डिपो भने ८ महिनादेखि रित्तै छ ।

सुर्खेतबाट माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे फोक्सुन्डो गाउँपालिकाका लागि ३ हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको हो । सुर्खेतबाट सदरमुकाम दुनै हुँदै ती पालिकामा चामल ढुवानी भइरहेको छ । ३ हजार ७४ क्विन्टलमध्ये ४ सय ४० क्विन्टल चामल दुनै पुगेको छ । छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा एक सय क्विन्टल चामल पुगिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए ।

उनका अनुसार झन्डै एक हजार क्विन्टल चामल बाटामा छ । ‘दुनैसम्म गाडीमा र दुनैबाट डिपोसम्म खच्चडमार्फत चामल ढुवानी गरिरहेका छौं,’ उनले भने, ‘आनै जिल्ला भएर स्थलमार्ग हुँदै पहिलोपल्ट चामल ढुवानी भइरहेको हो ।’ यसअघि चीन हुँदै माथिल्लो डोल्पामा चामल ढुवानी हुन्थ्यो ।

सडक सञ्जाल नपुगेको भन्दै यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयले नै डोल्पामा चामल ढुवानी गर्थ्यो । यस वर्ष भने कोरोनाका कारण चीनले नाका बन्द गरेपछि सुर्खेतबाट चामल ढुवानी भएको हो । दिनेश निर्माण सामग्री सप्लायर्स, बाँकेले चामल ढुवानीको जिम्मा लिएको छ । सप्लायर्सले सुर्खेतदेखि डोल्पोबुद्धको धो, छार्काताङसोङको ढारगाउँ र शे फोक्सुन्डोको साल्दाङसम्म चामल ढुवानी गर्नेछ । धोसम्म ८ हजार ४ सय ८०, ढारगाउँसम्म ९ हजार ४ सय ९० र साल्दाङसम्म १० हजार ९ सय ९५ रुपैयाँ प्रतिक्विन्टल चामल ढुवानी भइरहेको हो ।

माथिल्लो डोल्पाका स्थानीयले अनुदानको मोटो चामल ४ हजार ९ र जिरा मसिनो चामल ६ हजार ६ सय रुपैयाँमा किन्न पाउने कम्पनीले जनाएको छ । यसअघि स्थानीयवासी बजारबाट महँगो मूल्यमा चामल खरिद गरी उपभोग गर्न बाध्य थिए । डोल्पाका ग्रामीण बजारमा प्रतिक्विन्टल १२ देखि २० हजार रुपैयाँमा चामल बिक्री भइरहेको छ । जिल्ला खाद्य व्यवस्था समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पटक पटकको ताकेतापछि उपल्लो डोल्पामा चामल पुग्न थालेको बताए । ‘ढुवानी अनुदानको चामल नपुग्दा स्थानीयवासी महँगो मूल्यमा बजारको चामल खरिद गर्न बाध्य थिए,’ उनले भने, ‘यसपालि तीनवटै गाउँपालिकामा पर्याप्त हुने गरी चामल ढुवानीको व्यवस्था मिलाइएको छ ।’

पुलु डिपो ८ महिनादेखि रित्तै
मुगुमकार्मारोङ गाउँपालिकाको पुलु खाद्य डिपोमा भने गत वैशाखदेखि खाद्यान्न ढुवानी भएको छैन । खाद्यान्न नपुग्दा स्थानीयवासी महँगोमा बजारको चामल किनेर खाँदैछन् ।

गाउँपालिकाका करिब १ हजार ३ सय परिवारका लागि आवश्यक खाद्यान्न उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पुलुमा डिपो स्थापना गरेको थियो । ढुवानीको जिम्मा लिएको शर्मा ढुवानी सेवाले डिपोमा चामल नपुर्‍याउँदा माथिल्लो बस्तीका मुगु, डोल्फू, कार्तिक, किम्री र तल्लोबस्तीका ताख, खारी, मह, रिउस गाउँका बासिन्दा महँगोमा चामल किन्न बाध्य छन् । शर्मा ढुवानी सेवामाथि मुगुको कालै पुर्‍याउनुपर्ने चामल भक्तपुर पठाएको आरोपमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कालोबजारी ऐनअन्तर्गत मुद्दा चलिरहेको छ ।

हिमपातको बेला व्यापारीको चामल पनि पाउन मुस्किल हुँदा कसरी भोक टार्ने भन्ने चिन्ताले स्थानीयलाई सताएको छ । चितैगाउँका उर्गिन लामाले पैसा बोकेर चामल किन्न बजार जाँदासमेत रित्तै फर्किनुपरेको बताए । उनका अनुसार बजारमा चामल पाइहालेमा पनि प्रतिकेजी ८० देखि ८५ रुपैयाँसम्म पर्ने गर्छ । त्यही चामल डिपोमा ५० रुपैयाँसम्म पर्छ । ‘बरु पैसा कमाउन सजिलो, एक किलो चामल पाउन साह्रै गाह्रो,’ उनले भने ।

 चालु आर्थिक वर्षमा पुलु डिपोका लागि १ हजार ७ सय ५० क्विन्टल चामलको कोटा स्वीकृत भए पनि ठेकेदारले ढुवानी गरेका छैनन् । गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले खाद्य कम्पनीसँग बारम्बार अनुरोध गर्दासमेत चामल नआएको बताए । कान्तिपुर दैनिकमा हरि गौतम र राजबहादुर शाहीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्