
रुसको नेसनल गार्डले आयोजना गरेको सुन्दरी प्रतियोगिता जितेकी एक सैनिकले आफूलाई डाढ गरेर जागिरबाट निकालिएको दाबी गरेकी छन् ।
एक सन्तानकी आमा आन्ना ख्रामत्सोभाले पोहोर साल हजारौंलाई पछि पार्दै प्रतियोगिता जितेकी थिइन् ।
तर उनले सैनिक कार्यालयभित्रको भिडियो प्रदर्शन गरेको भन्दै जागिरबाट निकालिएको छ ।
आफूलाई नेसनल गार्डमा लैंगिक विभेद गरिएको दाबी गर्दै उनले विशेषगरी महिलाहरूले आफ्नो डाढ गरेको बताइन् ।
भिडियोमा निर्मलीकरण कारवाही देखाइएको छ र त्यसैको आधारमा उनलाई जागिरबाट निकालिएको हो । तर उनले बिकिनी लगाएको फूटेज र तस्वीरका कारण डाढ गर्दै महिला सैन्य अधिकृतहरूले जागिरबाट निकालेको उनी बताउँछिन् ।
‘उनीहरूमध्ये कसैलाई यो प्रतियोगिता जित्नु थियो । मैले जितेपछि उनीहरूलाई डाढ लाग्यो अनि निकाले,’ उनले गोवोरित मोस्क्वा रेडियोलाई बताइन् ।
आफूले सैनिकहरूको हौसला बढाउन भिडियो खिचेको अनि सीमित व्यक्तिले मात्र भिडियो हेरेको तर यसलाई आधार बनाएर उनीहरूले जागिरबाट निकालेको उनले बताइन् ।
यस निर्णयविरुद्ध आफूले अपील गर्ने उनको भनाइ छ ।