हामीले हस्तक्षेप गरेर हो, नत्र ओलीले उहिल्यै दुवै पद छाड्नुपर्थ्यो– गजुरेल [अन्तर्वार्ता]

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति र समसामयिक घटनाक्रमका विषयमा रिपोर्टिङ गर्छन् ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको आन्तरिक संकट फूटउन्मुख हुँदै गइरहेको छ । शीर्ष नेताहरूले विभिन्न फोरमहरूमा गएर दिने गरेका अभिव्यक्तिले पार्टी एकतालाई जोगाउनु पर्छ भन्दै अभियान नै चलाएका नेताहरू निराश बनेका छन् ।

पछिल्ला केही दिनहरूमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' पक्षबाट एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम रोकिएको छैन । पार्टीलाई एकढिक्का बनाएर अघि लैजाने पक्षमा उभिएका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, टोपबहादुर रायमाझी लगायतका नेताहरूको प्रयास फिक्का सावित भएको छ ।


Advertisement

गजुरेलले आफूहरू पार्टीलाई एकजुट बनाउन लागिरहेको बताएका छन् । लोकान्तरसँगको संक्षिप्त कुराकानीमा गजुरेलले आफूहरू पार्टी एकताको पक्षमा नलागेको भए पार्टी उहिल्यै विभाजन भइसक्ने दाबी गरे । पुस १ गते बस्ने स्थायी कमिटी बैठकअघि नै दुवै अध्यक्षलाई भेटेर सहमतिका लागि आफूहरूले तयार पारेको सूत्र सुझावका रूपमा दिने गजुरेल लगायतका नेताहरूको तयारी छ ।

कुराकानीमा गजुरेलले एकता पक्षधर शक्ति कमजोर हुँदै गएको स्वीकारे । उनले भनेका छन्, 'हाम्रो शक्ति पुग्यो भने एकता बच्छ, नत्र पार्टी फुट्छ ।'


Advertisement

प्रस्तुत छ, गजुरेलसँग लोकान्तरले गरेको अन्तर्वार्ताको सम्पादित अंश -

शीर्ष नेताहरूले सार्वजनिक गरेका अभिव्यक्तिहरू सुन्दा त नेकपा एक रहन नसक्ने निष्कर्षमा पुग्न गाह्रो छैन नि, तपाईंहरूले के देख्नुभएको छ ?

हामी विभिन्न हिसाबले पार्टीलाई एकजुट बनाउन लागिरहेका छौं । हाम्रो शक्ति पुग्यो भने एकता बच्छ, पुगेन भने फुट्छ ।

कानूनी हिसाबले अध्यादेश नआउने हो भने पार्टी कसरी फुट्ला र ?

एउटाले अर्कोलाई कारवाही गर्ने हिसाबले अघि बढ्ने हो भने त फुटिहाल्छ नि !

कारवाही नै गर्ने हिसाबले अघि बढ्ला त अब बस्ने स्थायी कमिटी बैठक ?

शक्ति पुग्यो भने कारवाही नै गर्ने हिसाबले अघि बढ्छ नि ! नत्र ठूला नेताहरूको अन्तर्वार्ता त्यसरी आउँछ त ?

लडाईं त केपी ओली र माधव कुमार नेपालबीच रहेछ नि अहिलेको ?

के बुझ्न आवश्यक छ भने यहाँ खालि नेपाल मात्रै छैन अब । नेकपाको अन्तरविरोधले विश्व नै तानिसकेको अवस्था छ । नेकपालाई फुटाउन विदेशी शक्ति केन्द्रहरू पनि लागिरहेका छन् ।

नेताहरू पनि को-को कता-कता प्रतिबद्ध छन् भन्ने कुराले धेरै अर्थ राख्न थालेको छ यतिबेला । अहिले आफूले चाहेर पनि नेताहरूले केही गर्न सकेको अवस्था छैन । परिस्थिति जटिल बन्दै गइरहेको छ । अहिलेको संकटलाई केही शीर्ष नेताहरूको लडाईं मात्र भन्न मिल्ने अवस्था रहेन ।

नेताहरूले समीकरण बनाएर भिड्न थालेपछि समस्या आएको हो ?

प्रचण्ड पनि समीकरणमा बाँधिनु भएको छ । समीकरणमा बाँधिएकै कारण उहाँले केही गर्न सक्नुहुन्न । त्यो समीकरण छोड्न नि नसक्ने, समातेर बस्यो भने नेकपा फूटतिर जाने खालको समस्या पैदा भएको छ ।

प्रचण्ड र नेपालबीच राम्रै सम्झौता भएकै कारण बलियो समीकरण बनेको हो भन्ने चर्चा चलिरहेको छ नि !

सम्झौता भनेको पदको भागबण्डा त होला नि ! नेताहरूले पद बाँड्दै हिँडेका छन् । त्यो प्रधानमन्त्री ओलीको तर्फबाट पनि भएको छ । सांसद बाँडेर हिँडेका छन्, टिकट पनि बाँडेका छन् । दुवैथरिले त्यो गरिरहेका छन् । समस्या पैदा भएपछि नेताहरू समाधान गर्नतिर लाग्नुपर्थ्यो । तर पद बाँड्न थाले, त्यसले परिस्थिति झन् जटिल बनाएको हो ।

मान्छेहरूले पद हेरिरहेका छन् । जनताले के भनेको छ, त्यो थाहा छैन । जनताको समस्या समाधान गर्ने कुरै छैन ।

पार्टीलाई एकढिक्का बनाउने अभियान नै चलाउनुभएको तपाईंहरूको भेटघाट त चलिरहेको होला नि ? कहाँ पुगेको छ एकता अभियान ?

हामी त एकता बचाउनुपर्छ भनेर पहिलादेखि लागिरहेका छौं । भेटघाट चलिरहेको छ, दुवैतिर भेटेर सल्लाह सुझाव दिइरहेका छौं ।

एकता बचाउने भनेको कमिटी बैठकमा एकले अर्कोलाई कारवाही गर्ने परिस्थिति सिर्जना हुन नदिने हो ?

अहिले दुवैथरिले आफ्नो कमजोरी स्वीकार्नुपर्‍यो, अनि पो एकता हुन्छ त । बरू उल्टै आफ्नो कमजोरीलाई ग्लोरिफाई गरिएको छ । जनतालाई चित्त पनि बुझ्दैन । दुवै प्रस्तावमा एकले अर्काको कमजोरी उठाएका छन् । तर दुवैले आफ्नो कमजोरी स्वीकारेका छैनन् ।

केपी ओलीले लगाएको आरोपलाई प्रचण्डले स्वीकार्नुभएको छैन । प्रचण्डले लगाएको आरोपलाई ओलीले स्वीकार्नुभएको छैन ।

यहाँले यस्तो कुरा उठाउनु भएको रहेछ, मेरो कमजोरी भयो । यसलाई म करेक्सन गर्छु भनेर कसैले पनि स्वीकारेको छैन ।

पहिला अध्यक्षबाट हटाउने र त्यसपछि प्रधानमन्त्रीबाट नै हटाउने प्रचण्ड-नेपाल पक्षको तयारी रहेको भन्दै बालुवाटार यतिबेला डराएको अवस्था हो ?

अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने प्रक्रिया हाम्रो कारणले रोकिएको हो । नत्र अस्ति नै हुन्थ्यो । पछिल्लो संकटमा पनि हामीले दुवैतर्फ कुरा गरिरहेका छौं । पर्सि स्थायी कमिटी बैठक बस्ने भन्ने छ, त्यसअघि नै मिलेर अघि बढ्ने सूत्रका बारेमा दुवैतर्फ छलफल गर्दैछौं ।

अब के छ तपाईंहरूसँग समाधानको सूत्र ?

एकता एकता भनेर मात्र भएन । समस्या समाधानको बिन्दु त पहिल्याउनै पर्‍यो । के आधारमा एक रहने त ?

के हो त्यस्तो आधार, कि भदौ २६ तिर फर्किने हो ?

भदौ २६ मा फर्किनु अबको उपाय होइन । त्यो भन्दा माथिल्लो स्तरबाट सहमति खोज्नुपर्छ । पहिलो दुवै पक्षले आफ्ना कमजोरीहरू रियलाइज गर्नुपर्‍यो । देश र जनताले जे कुरा उठाएको छ, त्यो सही छ भनेर दुवै पक्षले भन्नुपर्‍यो नि । आखिर जनता नै सबैभन्दा ठूलो शक्ति हो ।

दुवैपक्षका नेताहरूले दिएका अभिव्यक्तिहरू हेर्दा र सुन्दा त रियलाइजेसन केही पनि छैन भन्ने बुझिन्छ नि !

हो, दुवै पक्षबाट फूटतिरै जाने अग्रसरता भइरहेको देखिएको छ । त्यस्ता अभिव्यक्तिहरूको न्यूनीकरण हुनुपर्छ ।

तपाईंले देखेका सहमतिका सूत्रहरू के-के हुन् ? एक, दुई तीन, चार गरेर भन्दिनुस् न !

मेरो भनाइ के छ भने आम मान्छेहरूले उठाएका जुन विषय छन् त्यसलाई स्वीकार्नुपर्छ । अनि जनता खुसी हुन्छ । मिलेर मात्र हुँदैन नि, जनता खुसी हुनुपर्‍यो । गल्तीको ढाकछोप गरेर मिलेर हुँदैन ।

दुवैले एक अर्काविरुद्ध जसरी आरोप प्रत्यारोप गरेका छन्, त्यहाँ जनताका आवाज पनि छन् । ती आवाजहरूलाई स्वीकार्नु पर्‍यो ।

दोस्रो सरकार र पार्टी सञ्चालनको नीति र विधि तय गर्ने । सरकार कसरी चलाउने, नियुक्तिहरू कसरी गर्ने जस्ता कुरामा सहमति गर्नुपर्छ । पार्टीमा पनि कमिटीहरू कुन क्राइटेरियाबाट सञ्चालन गर्ने हो, त्यसको पनि ठोस विधि तय गर्नुपर्छ ।

तेस्रो दुवै जना नेताहरूलाई आ-आफ्नो काम गर्न दिने । प्रधानमन्त्रीले सरकार चलाउने हो भने उहाँलाई छोड्दिने र प्रचण्डले पार्टी चलाउने हो भने चलाउन दिने । दुवै पक्षले समीकरण बनाएर मैदानमा उत्रनु गलत थियो भनेर रियलाइज गर्ने ।

किनभने प्रचण्डले भैंसेपाटीमा ७ जनाको समीकरण बनाएर ओलीमाथि घेराबन्दी गर्नुभयो, त्यसपछि यता आएर ओलीले पनि ५ जनाको समीकरण बनाउनुभयो र प्रचण्डमाथि घेराबन्दी गर्नुभयो । समीकरण बनाउनु गलत भएको छ र त्यसले पार्टी टुटफुटतिर गयो भनेर स्वीकार गर्नुपर्‍यो ।

त्यसपछि विश्वासको वातावरण बन्छ । ओलीले अध्यक्ष छोड्दिने र प्रधानमन्त्री मात्र रहने ।

ओलीले अध्यक्ष छोड्ने सम्भावना पनि छ र ?

समीकरण बनाएर एकले अर्कामाथि घेराबन्दी गर्न थालेपछि दुईवटा अध्यक्षले चलेन भनेर त देखियो नि ! एउटा प्लेनका दुईवटा पाइलट झगडा गर्न थालेपछि प्लेन त चलेन । त्यसैले एउटाले सरकार चलाउने, अर्कोले पार्टी चलाउने गर्नुपर्‍यो ।

एउटा अध्यक्ष र अर्को प्रधानमन्त्री हुने वातावरण मिलाउनु पर्छ । अहिल्यै त्यो हुँदैन । घेराबन्दी भइरहेको बेलामा मान्छेले ठ्याक्कै छोड्दैन, छोड्यो भने झन् कमजोर हुन्छ ।

अहिले एकजनालाई घेराबन्दी गरेर जबरजस्ती पद छोड्न लगाइयो भने भोलि पद छाड्नेले घेराबन्दी गर्छ । पहिला दुवै पक्षले समीकरणलाई भंग गर्ने, त्यसपछि जनताले उठाएको कुरालाई स्वीकार्ने । अनि पार्टी र सरकार संचालनको निश्चित विधि ठोस गर्ने ।

अनि अनुकूल समयमा सहज वातावरण बनेपछि ओलीले अध्यक्ष छाड्ने ।

अध्यक्ष हुनेले महाधिवेशनसम्म पार्टीलाई लैजाने र प्रधानमन्त्रीले सरकार चलाउने कुरा नै सहमतिको बिन्दु हुन्छ भन्ने मलाई लाग्छ ।

तपाईंले दिनुभएको सूत्रले पार्टी एकताबद्ध रहला त ?

यसको अर्को विकल्प नै छैन नि । यी सूत्र प्रयोग गर्‍यो भने पार्टी एकताबद्ध रहला । जनता पनि खुसी हुन्छन्, आफूले उठाएका विषयहरू स्वीकार गरियो भनेर ।

नेताहरूले एकले अर्कालाई सिध्याउन बनाएको समीकरण तोड्न त्यति सजिलो छ र ?

समीकरणको जाँतो आफ्नो टाउकोमाथि झुण्डिएपछि निद्रा लाग्छ त ? प्रचण्ड-नेपालको समीकरण ओलीको टाउकोमाथि झुन्डिने, ओलीको समीकरण प्रचण्ड-नेपालको टाउकोमाथि झुण्डिएपछि त निद्रा लाग्दैन ।

दुवै पक्ष एकले अर्कालाई देखेर तर्सिने कुरा मात्र हुन्छ । यो भनेको जोगीदेखि भैंसी डराउने र भैंसीदेखि जोगी डराउने जस्तै हो । समस्या यहाँनेर छ भनेर दुवै पक्षले रियलाइज गर्नुपर्छ ।

भनेपछि नेकपा जेट दुईवटा पाइलटले चल्न सकेन ?

दुईवटा अध्यक्ष चल्दैन, मेरो कुरा क्लियर छ । दुई वर्षमा महाधिवेशन सकिएको भए त अहिलेसम्म समस्या समाधान भइसक्थ्यो ।

बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने तयारी त प्रचण्ड-नेपाल पक्षले गरिसकेको होइन र ?

पार्टी एकताताका राखिएको सहमतीय प्रणाली कसका लागि थियो ? त्यो पूर्व माओवादीका लागि भनेर राखिएको होइन र ? नत्र ६०/४० का आधारमा पार्टी एकता भएको छ । ६० प्रतिशत संख्या रहेको पूर्व एमाले पक्षले बहुमतका आधारमा निर्णय गर्दै गएको भए पार्टी एकता हुन्थ्यो कि विलय हुन्थ्यो ?

४० प्रतिशत त सधैं अल्पमतमा पर्ने भो, त्यो नहोस भनेर दुई अध्यक्षात्मक प्रणाली राखिएको हो । सहमतीय प्रणाली पनि त्यही कारणले राखिएको हो । त्यो एमालेको पक्षमा राखिएको होइन, माओवादीको पक्षमा राखिएको हो । त्यो प्रावधानको सम्मान गर्नुपर्छ ।

पार्टीमा एउटा कोही कमजोर होला, जनताले नरुचाएको होला । तर अर्को लिडरलाई जनताले रुचाउनु पर्‍यो । त्यसो भए समस्या हुँदैनथ्यो । यो नेताको विकल्प अर्को नेतालाई जनताले छानेका छन् है भनेर अघि बढ्न सकिन्थ्यो ।

तर अहिले दुवैको कमीकमजोरी देखिएको छ । एउटाको विकल्पमा अर्कोलाई छान्ने अवस्था तयार भएको छैन ।

मान्छेले बीसको उन्नाइस मात्र भनेको अवस्था छ ।

ईश्वर अर्याल
ईश्वर अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्