
भारतले देशमै बनेको आकाशबाट आकाशमा मार हान्न मिल्ने अस्त्र नामक क्षेप्यास्त्रको दायरा बढाउनका लागि काम गरिरहेको छ । यसले आफ्नै एयरस्पेसमा रही १६० किलोमिटर परको लक्ष्यमा प्रहार गर्न सक्नेछ ।
अहिले भारतीय वायुसेनाको मिग–२९ र लाइट कब्म्याट एयरक्राफ्ट तेजस अनि भारतीय जलसेनाको मिग–२९के विमानमा ११० किलोमिटर दायराको अस्त्र एमके १ जडान गरिने काम भइरहेको छ ।
अस्त्र मार्क १ पहिले नै भारतीय वायुसेनाको सु–३० एमकेआई लडाकू विमानमा जडान भइसकेको छ र भारत डाइनामिक्स लिमिटेडले यसको उत्पादन प्रक्रिया शुरू गरेको छ ।
जडानको सबै कार्य पूरा भइसकेपछि अस्त्र भारतको लडाकू विमानकै सबभन्दा उम्दा लामो दूरीको आकाशबाट आकाशमा मार हान्न मिल्ने क्षेप्यास्त्र हुनेछ ।
यसै वर्षको जुलाई महिनामा भारतको रक्षा मन्त्रालयले २४८ वटा अस्त्र क्षेप्यास्त्रको खरिदका लागि अनुमति दिएको थियो ।
भारतले मित्रराष्ट्रहरूलाई अस्त्र बेच्ने पनि बताइएको छ ।