१९ असार २०८३, शुक्रबार

योगी आदित्यनाथ नरेन्द्र मोदीका उत्तराधिकारी कि प्रतिस्पर्धी ?

मंसिर २२, २०७७
योगी आदित्यनाथ नरेन्द्र मोदीका उत्तराधिकारी कि प्रतिस्पर्धी ?

भारतको शक्तिसत्तामा नयाँ राजनीतिक विकास देख्न थालिएको छ । यसको बारेमा सन् २०१७ मा कुरा गरिएको थियो । तर त्यतिखेर यसबारेमा धेरै कुरा भएको थिएन । 

राजनीतिमा दुईवटा शक्तिकेन्द्र हुनु सामान्य कुरा हो । कुनै समयमा अटलविहारी वाजपेयी र लालकृष्ण आडवाणीबीचको जुगलबन्दी प्रख्यात थियो तर आडवाणी सधैं प्रधानमन्त्री पदका आकांक्षी मात्र रहे । अहिले नरेन्द्र मोदी र अमित शाहको राज छ । तर छिट्टै अर्को शक्तिसंघर्षको उदय हुँदैछ । मोदीविरुद्ध योगी शक्तिसंघर्षका लागि भारतीय राजनीति तयार हुन लागेको देखिन्छ । 

अघिल्लो साता सामाजिक सञ्जालमा भारतका चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत जलसेना दिवसको दिन योगी आदित्यनाथसँग गोरखपुरमा महाराणा प्रताप इन्टर कलेजको वर्षगाँठमा सहभागी भएको देखिएको थियो । सेनाप्रमुख छँदा जनरल रावतले नौपटक जलसेना दिवसमा भाग लिएका थिए । 
 

जलसेना दिवसको कार्यक्रममा भाग लिनुको साटो अर्धराजनीतिक तथा धार्मिक गोरखनाथ मठले सञ्चालन गरेको संस्थाको कार्यक्रममा जनरल रावतले भाग लिनु अर्थपूर्ण छ । सिद्धान्ततः फौजको जोकोहीले यस्तो कहिले पनि गर्दैन । तर भारतीय राजनीति अहिले सन्जेकालमा छ । 

गोरखपुरको कार्यक्रममा जनरल रावतको उपस्थितिलाई हानिरहित भन्न मिल्ला । तर प्रधानमन्त्रीले सशस्त्र बललाई आफ्नो प्राथमिकता बनाएकोसँग यसलाई जुधाएर हेर्नुपर्ने हुन्छ । 

हिन्दुत्व र सशस्त्र बलहरू सौभाग्यका प्रतीक हुन् भन्ने कुरा मोदीलाई थाहा छ । सन् २०१९ मा मोदीले पाकिस्तानमा भारतीय वायुसेनाको हवाई आक्रमणपश्चात् आएको राष्ट्रवादको लहरमा उक्लेर चुनाव जितेका थिए । त्यसैले

डिसेम्बर ७ मा मोदी सैनिकहरूको सम्मानका लागि आर्म्ड फोर्सेस फ्ल्याग डेमा सहभागी भए । यी सबै कुरालाई जोडेर हेर्दा दुईवटा ठाउँको चित्र बन्छ : दिल्ली र लखनउ ।

उत्तर प्रदेशमा दिल्ली जत्तिकै शक्तिशाली राजनीतिक शक्तिको उदय भइरहेको देखिन्छ । महत्त्वपूर्ण मानिसहरू अहिले बाक्लै गरी लखनउ जान थालेका छन् । लखनउमा समानान्तर शक्तिकेन्द्र चलिरहेको त छैन ? परिणामस्वरूप भाजपामा समानान्तर शक्तिकेन्द्र उदाइरहेको त छैन ? मोदी है त मुमकिन है को नारा लागिरहेकोमा कुनै दिन योगी है तो यकिन है को नारा लाग्न बेर छैन । 

तपाईं यसलाई अनुमानको खेती भन्न सक्नुहुन्छ तर भारतको राजनीतिक क्षितिजमा मोदीविरुद्ध योगीको उदय भइरहेको छ । 

सन् २०१७ मा उत्तर प्रदेशको विधानसभा निर्वाचनमा धेरै मानिसले योगीलाई मुख्यमन्त्री बनाइने अपेक्षा गरेका थिएनन् किनकि उनलाई स्टार प्रचारकका रूपमा उपयोग गरिएको पनि थिएन अनि मुख्यमन्त्रीको अनुहारका रूपमा पनि लिइएको थिएन । धेरैले त्यतिखेर केन्द्र सरकारका टेलिकम मन्त्री मनोज सिन्हालाई मुख्यमन्त्री बनाइने अपेक्षा गरेका थिए । सिन्हा मोदीका प्रियपात्र थिए । राष्ट्रिय स्वयंसेवक संघले कोही पनि संघभन्दा माथि छैन भन्ने सन्देश दिनका लागि योगीलाई उभ्याएको बताइएको थियो । र त्यो सत्य साबित हुँदै गएको छ । 
 

भाजपामा आफ्नै बलबुतामा उभिन सक्ने एक मात्र नेता योगी आदित्यनाथ हुन् । उनी नरेन्द्र मोदी वा अमित शाहको छायाँमा बस्नुपर्ने आवश्यकता छैन । अक्षय कुमारले प्रधानमन्त्री मोदीको अन्तर्वार्ता लिएर उनीसँग नजिकिन कोशिश गरेको भए पनि आफ्नो आउँदो फिल्म राम सेतुको शूटिङ अयोध्यामा गर्नका लागि अनुमति लिन योगी आदित्यनाथकहाँ पुगेका थिए ।

अनि बलिउडका कलाकारले मोदीसँग सेल्फी खिचाए जस्तै योगीले पनि कलाकारहरूलाई आकर्षित गरिरहेका छन् । आफ्नो व्यक्तित्व प्रचार गर्ने अभ्यास मोदीले जसरी गरिरहेका थिए, योगी पनि त्यही गर्दैछन् । बलिउडका कलाकार र निर्देशकहरूले योगीलाई मुम्बईमा केही दिनअघि भेटेर उत्तर प्रदेशमा बन्न लागेको फिल्म सिटीको कुरा गरेका थिए । 

दोस्रो कार्यकालमा मोदीले आफूलाई कट्टरपन्थी नेताका रूपमा प्रस्तुत गर्न चाहेका छैनन् । तिलक लगाउने नेताका रूपमा नभई मोदी आजकल मयूर र सुगालाई दाना खुवाइरहेका देखिन्छन् अनि आफूलाई परम्परा भत्काउने दार्शनिकका रूपमा प्रस्तुत गर्न खोजिरहेका छन् । 

योगी चाहिँ कट्टर हिन्दूवादी हुन् । राम मन्दिरको भूमिपूजनमा मोदीसँग उनी उपस्थित थिए । उक्त समारोहमा मोदीबाहेकका महत्त्वपूर्ण राजनीतिक व्यक्तित्व राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत र उत्तर प्रदेशका मुख्यमन्त्री थिए । यस ऐतिहासिक अवसरमा अमित शाह अनुपस्थित थिए । यो क्षण सच्चा हिन्दूको मस्तिष्कमा सदाका लागि बसेको छ र यस भावुक क्षणले आउँदा दशकहरूमा थुप्रै भोट ल्याउनेछ ।

मोदीभन्दा कम नदेखिनका लागि योगीले पनि अनेकौं प्रयास गरिरहेका छन् । 

मोदी जस्तै योगीले पनि आफूलाई वीतरागका रूपमा प्रस्तुत गरिरहेका छन् । आबाल ब्रह्मचारी योगी पिताको मृत्यु हुँदा पनि दाहसंस्कारमा भाग लिन गएनन् । पितालाई पूर्वाश्रमका जन्मदाता भन्दै आमालाई चिट्ठी लेख्दै उनले आफू राजधर्ममा बाँधिएकाले काम छोडेर आउन नमिल्ने र कोभिड लकडाउनको पनि पालन गर्नुपर्ने बताएका थिए । 

भाजपाका केही सदस्यहरू योगी आदित्यनाथलाई महाराजजी भनी पुकार्छन् । भाजपाका तर्फबाट राज्यसभाका पूर्व सांसद तरुण विजयका अनुसार, योगीले सार्वजनिक नेताको हैसियतमा आदर्शवादको असम्भव मापदण्ड बनाएका छन् । योगीको महानतालाई मिडियाले पर्याप्त स्थान नदिएकोमा उनको गुनासो छ । 

योगीलाई सरकारमा रहेकाहरूले पनि प्रशंसा गर्छन् । सर्वोच्च अदालतले अयोध्याका विषयमा फैसला गरेपछि उत्तर प्रदेशमा कानून व्यवस्था कामय गर्न सकेको भनी अजित डोभालले योगीको प्रशंसा गरेका थिए । तर मोदीले फैसलापछि शान्ति बहाल गर्न आह्वान गरेका थिए । 

सन् २०२१ देखि २०२४ सम्ममा मोदी र योगीबीचको शक्तिकेन्द्र थप बलियो बन्ने छ कि शान्तिपूर्ण बीचको बाटो निस्कनेछ भन्ने निश्चित हुनेछ । शक्तिको यो संघर्षमा अमित शाहको बलि चढाइने हो कि भनी हेर्न रोचक हुनेछ ।

द प्रिन्टमा प्रकाशित जैनाब सिकन्दरको विश्लेषणलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्