
धनगढी जुगेडाका किसान सीताराम चौधरीले सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्ने भन्दै व्यापारीलाई धान दिएनन् ।
त्यसपछि उनी धान बेच्नका लागि धनगढी मोहनपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोमा पुगे । तर, खरिद भैसकेको धान पनि राख्ने ठाउँ नभएको भन्दै उनलाई फिर्ता पठाइयो ।
त्यसपछि उनले बाध्य भएर नजिकै रहेको स्थानीय व्यापारीको गल्लामा प्रति प्रतिक्विन्टल १८ सयका दरले धान बेचे ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान नकिन्दा व्यापारीलाई सस्तोमा बेच्नुपरेकोमा चौधरी निकै दुःखी देखिए ।
‘पहिले डिपोमा भीडभाड थियो । भीडभाड कम भएपछि धान बेचौँला भनेको त खरिद नै बन्द गरेछ,’ उनले भने, ‘अनि व्यापारीले भनेकै मूल्यमा धान बेच्नुपर्ने भयो ।’
‘सरकारले मध्यम धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँमा खरिद गर्ने भयो । तर, व्यापारीले भने सरकारले तोकेको मूल्य लागू गरेका छैनन्,’ अत्तरियाका गणेश थापाले भने, ‘उनीहरूले प्रतिक्विन्टल १८ सयदेखि २ हजार १ सयसम्ममा धान खरिद गरिरहेका छन् ।’
सरकारले धान नकिनिदिँदा जोशीपुरका किसान शिव डगौरा पनि दुःखी छन् ।
‘सरकारले ढिला गरी धान खरिद शुरू गर्यो, त्यतिखेर धेरैजसो किसानले व्यापारीलाई बेचिसकेका थिए । सरकारले व्यापारीबाट धान खरिद गर्यो अहिले हामीले बेच्न जाँदा खरिद गरिरहेको छैन,’ डगौराले भने ।

भएका गोदाम भाडामा, किसानबाट किनेको धान चौरमा
गोदाम भरिएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा किसानबाट धान खरिद गर्न छाडेको छ ।
धनगढी मोहनपुरमा रहेको डिपोबाट धान खरिद बन्द गरेको छ भने गोदाम भरिन थालेकाले जोशीपुर गाउँपालिकामा रहेको डिपोमा पनि धान खरिद रोक्नुपर्ने अवस्था आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले जनाएको छ ।
खाद्य कार्यालय धनगढी प्रमुख अनिलकुमार श्रेष्ठले भण्डारणको समस्याले धान खरिद प्रभावित भएको बताए । यसअघि बोराको अभावले पनि कैलालीमा केही दिन धान खरिद कार्य रोकिएको थियो ।
‘अहिले बोरा आइपुगेको छ, तर गोदाम भरिएकाले कहाँ राख्ने भन्ने समस्या छ,’ श्रेष्ठले भने, ‘किनेको धान गोदामबाहिरै राखेका छौं ।’
मोहनपुर र जोशीपुरबाहेक अन्य डिपोको गोदाममा पनि ठाउँको अभावले थप धान खरिद गर्न समस्या हुने उनले बताए । खाद्यले मोहनपुर डिपोबाट मात्रै ११ हजार क्विन्टल धान किनेको छ ।
मोहनपुरमा खाद्यसँग रहेका १०–१० हजार क्विन्टल क्षमताका दुईवटा गोदाम चामलले भरिएका छन् । गोदाम भरिएकाले खरिद गरेको धान बाहिरै राख्नुपरेको श्रेष्ठले बताए ।
गोदामको अभावले किसानको धान किन्न रोकेको खाद्यले मोहनपुर डिपोमै रहेका १०–१० हजार क्विन्टल भण्डारण क्षमताका दुई वटा गोदाम भने भाडामा दिएको छ ।
यस्तै, धनगढीमा १५ हजार क्विन्टल क्षमताको गोदाम पनि निजी क्षेत्रलाई अस्पताल बनाउन भाडामा लगाइएको छ । केन्द्रबाटै गोदाम भाडामा लगाइएको प्रमुख श्रेष्ठले बताए ।
बोरा र राख्ने ठाउँको अभाव देखाउँदै खाद्यले खरिद बन्द गर्न थालेपछि किसानहरू फेरि व्यापारीकहाँ नै धान बिक्री गर्न बाध्य छन ।
खाद्यमा उचित मूल्य पाइने आशले कतिपय किसानले व्यापारीलाई बिक्री नगरेर धान राखेका थिए । तर, खाद्यले खरिद रोकेपछि किसानहरूले सस्तोमा व्यापारीलाई नै धान बेच्न थालेका छन् ।

धान बिग्रिने चिन्ता
विश्व खाद्यलाई भाडामा दिइएको गोदाम खाली गराउन केन्द्रलाई आग्रह गरे पनि केन्द्रबाट जवाफ नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले बताए ।
‘मोहनपुरको हाम्रो गोदाम चामलले भरिएको छ । खरिद गरेको धान बाहिरै राखेकाले वर्षा भए बिग्रने अवस्था छ,’ उनले भने, ‘यसबारे जानकारी दिँदै विश्व खाद्यले प्रयोग गरेको गोदाम खाली गराइदिन केन्द्रलाई आग्रह गरेका थियौँ, तर सुनुवाइ भएन ।’
धनगढीमा धान खरिद सुचारु गर्न भाडामा लिने गरी गोदामको खोजी भइरहेको खाद्यले जनाएको छ । जोशीपुरको गोदाम पनि भरिएकाले खरिदमा समस्या भएको प्रमुख श्रेष्ठले बताए ।
धान खरिदका लागि जिल्लाभर नै पूर्वाधारको अभाव रहेको उनको दाबी छ । टीकापुर डिपोमा पनि भण्डारण क्षमता न्यून रहेको श्रेष्ठले बताए ।
टीकापुर डिपोको गोदाम पाँच हजार क्विन्टल क्षमताको हो । त्यहाँ सात सय क्विन्टल चामल छ । गोदाम भरिएकाले त्यहाँ पनि खरिद गरेको धान गोदामबाहिरै राखिएको उनले बताए ।
ढिलो गरी धान खरिद शुरू गरेको खाद्यले यस वर्ष जिल्लामा किसानबाट ६५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।
मोहनपुर, टीकापुर, जोशीपुर र भजनी डिपोबाट अहिलेसम्म ३२ हजार क्विन्टल धान खरिद भएको खाद्य व्यवस्था कम्पनी लिमिटेड धनगढीले जनाएको छ ।
भाडामा दिइएको गोदाम खाली गराउन केन्द्रलाई आग्रह गरे पनि केन्द्रबाट हालसम्म कुनै प्रतिक्रिया नआएको श्रेष्ठले बताए ।
धनगढीमा नयाँ गोदामको खोजी गरेरै भए पनि किसानको धान खरिद गर्ने उनको भनाइ छ, यद्यपि किसानहरूले भने उनको आश्वासनमा विश्वास गरिसकेका छैनन् ।