सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी संवैधानिक परिषदसम्बन्धी अध्यादेशका बारेमा टिप्पणी गर्दै सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशको विषय पार्टीलाई कुनै जानकारी नभएको टिप्पणी गरेका छन् ।
लोकान्तरसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, 'गत वैशाखमा ल्याइएको अध्यादेशलाई पार्टीले ठीक नभएको भनी फिर्ता गर्न लगाएको थियो, अहिले त्यही प्रकारको अध्यादेश पार्टीलाई ग्राह्य हुँदैन । यसबारेमा हामी आन्तरिक छलफल गरिरहेका छौं ।'
आजै बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।
बिहान बसेको संवैधानिक परिषद बैठकमा सभामुख अग्नीप्रसाद सापकोटा उपस्थित नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूअनुकूल नियुक्ति गर्ने बाटो अध्यादेशमार्फत खुलाएका हुन् ।
अध्यादेशमाथि अध्यक्ष प्रचण्डले कडा आपत्ति जनाएका छन् भने वरिष्ठ नेता झलनाथ खनालले पनि असन्तुष्टि पोखेका छन् ।