
पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी सत्तारुढ दलको गोटी बनेको आरोप लगाएका छन् । उनले स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति नबनाउँदा समस्या भएको समेत बताएका छन् ।
विपक्षी दल निकट पहिलो राष्ट्रपतिले मन्त्रिपरिषद्ले गरेको सिफारिस गरेका कुनै अध्यादेश जारी नगरेर निर्वाचित सरकारलाई असफल पारेको स्मरण गर्दै उनले सत्तारुढ दल निकट दोस्रो राष्ट्रपतिले भने प्रधानमन्त्रीको लहडको अध्यादेशलाई पनि क्षण भरमै जारी गरिदिएको भन्दै आक्रोश पोखेका छन् ।
सबैले आत्मसमीक्षा गरौ भन्दै भट्टराईले भनेका छन्, ‘विपक्षी दलका पहिलो राष्ट्रपति मन्त्रिपरिषद्ले पारित गरेका कुनै अध्यादेश जारी नगरेर निर्वाचित सरकारलाई असफल पार्ने । सत्ताधारी दलकी दोश्रो राष्ट्रपति प्रमको लहडको अध्यादेशलाई मिनेटमा जारी गर्ने ! कतै पहिलो राष्ट्रपति पदका जायज हकदार स्वतन्त्र व्यक्ति रामराजाको सराप त लागेको हैन ?’ स्वर्गीय गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई पहिलो राष्ट्रपति बनाउन पहल भएपनि दलहरुबीच सहमति नजुट्दा रामवरण यादव पहिलो राष्ट्रपति बनेका थिए ।