
संवैधानिक परिषद्को बैठक बुधबारपनि बस्ने तय भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि सामान्य छलफल भएको र भोलि फेरि बैठक बसेर अन्तिम रुप दिन लागिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा नियुक्तिबारे छलफल भएको तर आज कुनै निर्णय नभएको जानकारी दिए । आज बिहान बस्ने भनिएको बैठक गणपूरक सङ्ख्या नपुगेपछि साँझका लागि सारिएको थियो । त्यस अगावै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।
सो अध्यादेशअनुसार परिषद्का ३ सदस्यले पनि सिफारिसको निर्णय गर्न सक्छन् । आजको बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने सहभागी भएनन् ।