
अमेरिकी स्वास्थ्य अधिकारीले कोरोना भाइरसविरुद्ध मोडर्नाको खोप अमेरिकामा सुरक्षित र ९४ प्रतिशत प्रभावकारी हुन सक्ने बताएका छन् ।
खाद्य तथा औषधि प्रशासन (एफडीए)को विश्लेषणअनुसार अमेरिकामा कोरोना नियन्त्रणका लागि यो दोस्रो प्रभावकारी खोप हुन सक्नेछ ।
अमेरिकामा फाइजर–बायोएनटेकको खोप लगाउन सुरु भएको दोस्रो दिनमै मोडर्नाको पनि चर्चा चलेको हो ।
एफडीएका वैज्ञानिकले मंगलबार मोडर्नाको खोप सुरक्षित भएकाले यसलाई प्रयोगमा ल्याउन सकिनेबारे घोषणा गरेका हुन् ।
यसले ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेजस्ता सामान्य असर मात्र गर्ने जनाइएको छ ।
यही साताको अन्त्यतिर विज्ञ टोलीले यो खोपलाई स्वीकृति दिए २४ घण्टाभित्र प्रयोगका लागि उपलब्ध हुने बीबीसीले जनाएको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघिसकेको छ ।