
जापानमा ‘ट्विटर हत्यारा’ भनी चिनिएका एक पुरुषले नौजनाको हत्या गरेको स्वीकार गरेका छन् । उनलाई मंगलवार टोक्यो जिल्ला अदालतले मृत्युदण्डको सजाय दिएको छ ।
ताकाहिरो शिराइशी नामक ३० वर्षीय ती युवकले टोक्योभन्दा बाहिरको कानागावास्थित जामामा रहेको अपार्टमेन्टमा नौजनालाई हत्या, बलात्कार, अंगभंग तथा भण्डारणको काम गरेका थिए ।
२३ वर्षीया युवती बेपत्ता भएपछि प्रहरीले शिराइशीको घरमा खानतलाश गर्दा उनी पक्राउ परेका थिए ।
उनको कोठामा तीनवटा कूलर बक्स र पाँचवटा कन्टेनर फेला परेका थिए । त्यसमा मानव खप्पर र मासु निकालिएको हाडहरू भेटिएको टीभी आसाहीले खबर दियो ।
नौ पीडितमा आठ महिला र एक पुरुष थिए । उनीहरूको उमेर १५ देखि २६ वर्षको बीचमा थियो ।
ती पीडितहरूले आत्महत्या गर्न मन लागेको भनी अन्लाइन पोस्ट गरेका थिए । त्यसपछि शिराइशीले उनीहरूलाई सामाजिक सञ्जालमा सम्पर्क गरेको एनएचकेले खबर दियो ।
जापानी भाषामा जल्लाद नामको ट्विटर ह्यान्डल चलाउने शिराइशीले उनीहरूलाई आफ्नो अपार्टमेन्टमा बोलाउने र मर्न सहयोग गर्ने प्रतिज्ञा गर्ने गरेका थिए ।
आफ्नो यौनेच्छा पूरा गर्न उनीहरूको हत्या गरेको शिराइशीले स्वीकार गरे ।
फैसलाविरुद्ध पुनरावेदन नगर्ने अनि फाँसीमा झुण्डिन तयार रहेको उनले बताएका छन् ।