
काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।
यसअघि मंगलवार काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसूस गरिएको छ ।
काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । यसअघि सोमवार भने काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ० डिग्री मापन भएको थियो ।
मौसमविद् समीर श्रेष्ठका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । ‘अबको केही दिन तापक्रम घटबढ भइरहने छ,’ श्रेष्ठले भने, ‘मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ ।’
पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।
बुधवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव १ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।