१३ असार २०८३, शनिबार

एकै वर्षमा ६५ लाखको सुन्तला बेच्ने यी किसान

पुस १, २०७७
एकै वर्षमा ६५ लाखको सुन्तला बेच्ने यी किसान
फाइल फोटो

म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँ सुन्तला खेतीका लागि जिल्लाकै नमूना बगैंचाको रूपमा स्थापित भएको छ ।

अन्य क्षेत्रका सुन्तला उत्पादनमा भारी ह्रास आए पनि उक्त क्षेत्रमा नगण्य मात्रमा उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । 

उमाचोक सुन्तला ब्लक सञ्चालक समितिलाई चालू आर्थिक वर्षमा २२ लाख ७२ हजार ४९३ रुपैयाँ सहयोग गरिएको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताए । सुन्तला खेती विस्तार, रोग निवारण, साना सिँचाइ कार्यक्रम, सुन्तला बिरुवा रोपण, बगैंचा सुदृढीकरण लगायत उक्त रकमको व्यवस्था गरिएको हो ।

उनले भने, ‘कृषकको लागत सहभागिता समेत गरी ४० लाख रुपैयाँ रहेको छ ।’

आर्थिक वर्ष २०७६/७७ मा पनि समितिलाई लागत सहभागिताको लागि १३ लाख ७६ हजार ७७१ सहयोग रकम प्रदान गरिएको थियो । यहाँका कृषक सुन्तला बेचेर राम्रै आम्दानी गर्दै आएका छन् । व्यावसायिक कृषकले वार्षिक ५ लाखदेखि ६५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । 

उमाचोक गाउँका कृषक सुन्तला बेचेर मनग्गे आम्दानी लिन थालेसँगै सोही पालिकाको छिमेकी वडा १ र ३ का कृषक पनि उमाचोक सुन्तला ब्लक सञ्चालक समितिमा आबद्ध भई व्यावसायिक सुन्तलाखेती तर्फ लागेका छन् । 

यस वर्ष उमाचोक गाउँबाट मात्रै २ करोड २ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन् । उक्त उत्पादन गत वर्षको तुलनामा २२ रुपैयाँ कमी हो । गत वर्ष उक्त गाउँबाट २ करोड २२ लाखको सुन्तला बिक्री भएको उमाचोक सुन्तला ब्लक सञ्चालक समितिका संयोजक निर्मल अधिकारीले जानकारी दिए ।

गाउँमा सबैभन्दा धेरै सुकनारायण श्रेष्ठले ६० लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् । उनले गत वर्ष ६५ लाख रुपैयाँको सुन्तला बिक्री गरेका थिए । अर्का कृषक रामबहादुर थापाले यो वर्ष १६ लाख रुपैयाँको सुन्तला बिक्री गरिसकेको बताए । अहिले वर्ष पानी धेरै परेकोले सुन्तलाका दाना साना लागेको र ढिलो गरी पाकेकोले केही उत्पादन घटेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्