
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडाका वडा भवन व्यवस्थित गर्ने बताएका छन् ।
बुधबार वडा–२ कार्यालय भवनको शिलान्यास गर्ने क्रममा पुनर्निर्माण गर्ने र नयाँ निर्माण गर्ने अभियानलाई पूरा गरी छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भ्याटसहित ५ करोड २८ लाख १० हजार ४ सय ५६ रुपैयाँ लागत अनुमान रहेको वडा निर्माणका लागि बोलपत्रबाट न्यू ड्रागन निर्माण सेवाले भ्याटसहित ४ करोड १७ लाख १५ हजार ९४३ रुपैयाँ लागतमा कबोल गरेको छ ।
सोही भवनको शिलान्यासपछि सम्बोधन गर्दै २०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय भवन र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको बताए । उक्त निर्णय कार्यान्वय गर्ने क्रममा वडा नम्बर २ को भवन शिलान्यास भएको जानकारी दिए ।
‘कतिपय ठाउँमा तला थप्ने काम अघि बढेको छ । कतिपय वडाको टेण्डर प्रक्रिया अघि बढेर शुभारम्भको चरणमा छ,’ उनले भने, ‘हाम्रै कार्यकालमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा सुविधा सम्पन्न भवन निर्माण गरी ती भवनबाट सेवा दिनेछौं ।’
३२ वडामध्ये वडा–८ मा सामान्य विवाद देखिएको छ । ती बाहेक अन्य सबै वडामा विवादरहित ढंगले पुनर्निर्माण भैरहेको उनको भनाइ छ ।
शाक्यले वडा–९ र १८ को भवन उद्घाटन भै सेवा प्रवाह सुरु भैसकेको जानकारी दिए । ‘वडा–३ को भवन निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । वडा–४ को भवन पुस मसान्तभित्र सम्पन्न हुने छ,’ शाक्यले भने, ‘वडा– १४ को गृह प्रवेश भैसकेको छ भने वडा–२६ को भवनबाट पनि सेवा सुरु भएको छ । कोभिड–१९ का कारण उद्घाटन हुन बाँकी छ ।’
करीब २१ आना जग्गामा ३ तलाको वडा भवन निर्माण हुनेछ । भवनमा करीव ६० जना व्यक्ति अट्ने सभा कक्ष र प्रशासनिक कक्षहरु हुनेछन् । काठमाडौँ महानगरपालिकाका इन्जिनियर प्रेम बहादुर श्रेष्ठले वडा–६ को ढलान कार्य सम्पन्न भएको र वडा–१२ को टेन्डर प्रक्रियामा रहेको जानकारी दिए ।
‘वडा–२२ को दुइ तल्ला ढलान भएको छ । वडा–२१ र २९ टेन्डर प्रक्रियामा रहेको छ,’ उनले भने, ‘वडा–३१ शिलान्यास हुने प्रक्रियामा छ भने वडा–१६ टेन्डर प्रक्रियामा जान बाँकी छ ।’ अन्य वडा भवनको पनि स्तरोन्नती गर्नेलगायतका प्रक्रिया अघि बढेका छन् ।