
भदौ २६ गतेको सहमतिमा फर्किने गरी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फेरि सहमति भएको स्रोतले दाबी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको छलफलमा भदौ २६ गतेयताका एकलौटी नियुक्ति खारेज गर्ने सहमति भएको बालुवाटार स्रोतको भनाइ छ ।
एकतर्फी गरिएका नियुक्ति खारेज गर्ने, मन्त्रिपरिषद् पुर्नगठन गर्ने र गल्ती कमजोरी सच्चाउने गरी सहमति जुटेको स्रोतको दाबी छ । सचिवालयमा पेश भएका प्रस्ताव खारेज गरेर नयाँ प्रस्ताव ल्याइने पनि सहमति भएको छ ।
भदौ २६ गतेयता भएका र मिल्नेजति राजनीतिक नियुक्ति बदर गर्ने सहमति भएको स्रोतको भनाइ छ । भदौ २६ गतेको स्थायी कमिटी बैठकले ओलीले सरकार सञ्चालन गर्ने र प्रचण्डले पार्टीको काम हेर्ने गरी सहमति भएको थियो ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न ओली सहमत भएपछि संसदको विशेष अधिवेशन बोलाउने प्रस्ताव फिर्ता गर्न प्रचण्ड, माधव नेपाल समूह राजी भएको थियो । भद्र सहमतिपछि नेकपा स्थायी कमिटी बैठक बसिरहेको छ । बैठकमा केपी ओली पनि सहभागी छन् ।