१६ असार २०८३, मंगलबार

झन् बढ्दै अस्ट्रेलिया–चीन तनाव

पुस २, २०७७
झन् बढ्दै अस्ट्रेलिया–चीन तनाव

विगत लामो समयदेखि चीनले अस्ट्रेलियासँगको व्यापारमा सिर्जना गरिरहेको समस्यालाई लिएर अस्ट्रेलियाले विश्व व्यापार संगठनमा उजुरी दायर गरेको छ । अस्ट्रेलियाको पछिल्लो निर्णयसँगै चीन र अस्ट्रेलियाको द्विदेशीय सम्बन्धमा झन् तनाव बढ्ने देखिएको छ ।

अस्ट्रेलियाका व्यापारमन्त्री साइमन बर्मिङ्घमले अस्ट्रेलियाले चीनले पछिल्लो समयमा सिर्जना गरिरहेको समस्याबारे विश्व व्यापार संगठनमा उजुरी गरिएको पुष्टि गरेका छन् । चीनले अस्ट्रेलियाबाट आयात गरिरहेको जौ, वाइन, मासु, दुग्ध पदार्थलगायत उत्पादनमा क्रमिक रूपमा बन्देज लगाउँदै आइरहेको छ । अस्ट्रेलियाको निर्यात व्यापारमा करिब ४० प्रतिशत स्थान ओगट्ने चीनले अस्ट्रेलियासँगको व्यापारमा समस्या सिर्जना गरिरहेपछि आफू विश्व व्यापार संगठनमा जान बाध्य हुने अस्ट्रेलियाले बताउँदै आएको थियो । अर्कोतिर चीनले भने अस्ट्रेलियाले आफूप्रति विरोधीको व्यवहार गरेको आरोप लगाउँदै आएको छ ।

अस्ट्रेलियाले कोरोना भाइरसको उत्पत्ति भएको विषय सत्यतथ्य छानबिन हुनुपर्ने माग कडा रूपमा उठाएसँगै चीनसँगको सम्बन्धमा तनाव सुरु भएको थियो । त्यसलगत्तै अस्ट्रेलियाबाट निर्यात हुँदै आएको मासु, दुग्ध पदार्थ, जौ, वाइनलगायत खाद्य पदार्थमा चीनले कडाइ गर्दै आएको थियो । व्यापारिक रूपमा बिग्रँदै गएको सम्बन्ध पछिल्लो समयमा कूटनीतिक र राजनीतिक तहमा समेत पुगेको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्रीका साथै अन्य उच्च नेताले समेत आफूले चीनका समकक्षीसँग गरेको वार्ता प्रयासलाई चीनले बेवास्ता गरेको बताइसकेका छन् । त्यतिमात्र नभएर केही साताअघि चीनको विदेश मन्त्रालयका प्रवक्ताले अस्ट्रेलियाली सेनाले अफगानी बालकको घाँटीमा छुरा राखेको झूटो तस्बिरसहितको फोटो ट्वीट गरेपछि सम्बन्धमा झन् तनाव सिर्जना भएको हो ।

अस्ट्रेलियाले विश्व व्यापार संगठनमा उजुरी दर्ता गरे पनि व्यापारमन्त्री बर्मिङ्घमले दुवै पक्ष सहमतिमा आउन स्वीकार भए समस्याको समाधान बाहिरैबाट समेत समाधान हुने बताएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाका अर्थशास्त्री तथा करिब डेढ दशक अस्ट्रेलियाली सरकारको आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका डा. कृष्ण हमालले अस्ट्रेलिया र चीनको व्यावसायिक तथा कूटनीतिक सम्बन्ध यो स्तरमा आउनुमा चीनमात्र नभएर अस्ट्रेलियाको समेत केही मात्रामा कमजोरी रहेको सुनाउँछन् ।

‘द्विदेशीय सम्बन्ध यो अवस्थामा आउने कसैले पनि कल्पना गरेको नभए पनि अब चीनसँग सम्झौता गर्नुको खासै विकल्प पनि देखिँदैन,’ उनले भने । हमाल अमेरिकाका नवनिर्वाचित रास्ट्रपति जो बाइडनले चीनप्रति लिने नीतिले समेत अस्ट्रेलिया र चीनको सम्बन्धमा असर पर्ने दाबी गर्छन् । ‘अहिले देखिएको व्यापारिक तनावले अस्ट्रेलिया मात्र नभई चीनलाई समेत उत्तिकै असर परिरहेकाले कुनै विन्दुमा आएर सहमति गर्नुको विकल्प छैन र दुवैले सहमति गर्नेमा आशावादी हुन सकिन्छ,’ हमालको भनाइ छ ।

विज्ञले चीनले आफू सुपरपावर भएको प्रभुत्व जमाउनसमेत अस्ट्रेलियालाई दबाबमा राख्न चाहेको बताएका छन् । अर्थशास्त्री हमाल कोभिडका कारण अर्बौं डलर बराबरको आर्थिक सहायता जनतालाई वितरण गरिसकेका दुवै देशका अर्थतन्त्र धान्नका लागि समेत दुवै देशले सहमति गर्नुको विकल्प नभएको उनको विश्लेषण छ । अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. किरण श्रेष्ठ पछिल्लो समयमा देखिएको तनाव व्यावसायिकभन्दा पनि भूराजनीतिक विषयसँग सम्बन्धित रहेको दाबी गर्छन् । उनी पछिल्लो समयमा चीनले प्रशान्त क्षेत्रमा बढाइरहेको प्रभावका कारण अस्ट्रेलियाले असुरक्षित महसुस गरेकाले समेत यो समस्याको सिर्जना भएको बताउँछन् ।

‘अहिले देखिएको यो समस्या मुख्य गरेर प्रशान्त क्षेत्रमा देखिएको भूराजनीतिक प्रभाव र समस्या नै हो,’ डा. थापा भन्छन, ‘यो दुई देशको आफ्नै किसिमको शक्ति प्रदर्शन मात्र भएकाले कुनै न कुनै विन्दुमा गएर सहमतिमा टुंगिने देखिन्छ ।’ उनी पछिल्लो समयमा चीन र अस्ट्रेलियाबीचमा बढिरहेको समस्याले आर्थिक तथा वैकल्पिक बजारका सन्दर्भमा भने परिवर्तन आउन सक्ने दाबी गर्छन् । ‘अस्ट्रेलियाले चीनसँग मात्र व्यापारका लागि निर्भर रहनुको साटो अन्य देशसँगको बजार समेत खोज्नुपर्छ भन्ने शिक्षा पाएकाले समेत अस्ट्रेलियाली निर्यात व्यापारमा परिवर्तन आउन सक्छ,’ थापाले भने । उनी दुई देश व्यावसायिक रूपमा एकआपसमा धेरै हदसम्म निर्भर रहेकाले समेत यो समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्छन् । कान्तिपुर दैनिकमा नारायण खड्काले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्