३१ जेठ २०८३, आइतबार

पोखराबाट मुक्तिनाथसम्म केबलकारमै जान पाइने, डीपीआर बन्यो

पुस ३, २०७७
पोखराबाट मुक्तिनाथसम्म केबलकारमै जान पाइने, डीपीआर बन्यो

योजना अनुसार काम हुन सके अबको करिब साढे चार वर्षपछि पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकारमै जान पाइनेछ ।

लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा विश्वकै लामो केबलकारका रूपमा मुक्तिनाथ केबलकार आयोजनाको विस्तृत आयोजना प्रतिवेदन सरकारको हातमा परेको छ ।

मुक्तिनाथ दर्शन प्रालिले केबलकार कसरी र कस्तो बनाउने भन्ने पूर्ण विवरण समेटेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)माथि अहिले लगानी बोर्ड र सरोकारवाला निकायका प्राविधिक तथा पदाधिकारी सम्मिलित टोलीले अध्ययन गर्दैछन् ।

डीपीआर अनुसार कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म ८०.१५ किलोमिटर लामो केबलकार बन्नेछ । प्रतिसेकेन्ड सात मिटरको गतिमा हुइँकिने केबलकारका डिब्बा (गोन्डुला)ले मुक्तिनाथसम्म पुग्न केबल तीन घण्टा ३६ मिनेट लगाउने छ । समुद्र सतहदेखि करिब एक हजार मिटरको उचाइबाट सुरु हुने केबलकार तीन हजार सात सय मिटरको उचाइसम्म पुग्नेछ । यसमा १७ वटा खण्ड बनाइने छ भने १९ वटा स्टेसन हुनेछन् ।

कम्पनीका प्रबन्ध सञ्चालक श्रीधर सापकोटाका अनुसार यो यात्रालाई खण्डित रूपमा पनि यात्रुले पूरा गर्न पाउनेछन् ।

“स्मार्टकार्डमा आधारित टिकट बनाउने योजना छ, यस अनुसार वीरेठाँटीदेखि मुक्तिनाथ पुग्ने र त्यहाँबाट पुनः वीरेठाँटी आइपुग्न सात दिनको अवधि दिनेछौँ,” उनले भनेे, “यसका लागि प्रतिव्यक्ति करिब छ हजार रुपियाँ पर्ने अनुमान छ ।” सापकोटाका अनुसार छवटा स्टेसनमा यात्रुहरू अनिवार्य ओर्लने, विश्राम गर्ने र चढ्ने गर्नुपर्ने छ भने अतिरिक्त पाँचवटा स्टेसन ऐच्छिक हुनेछन् ।

यो व्यवस्थामा उपभोक्ताले आफू अनुकूल स्थानमा बस्ने र अर्को दिनसमेत त्यहीँबाट अर्को स्टेसनसम्म पुग्न सुविधा पाउनेछन् । कम्पनीले हाई अल्टिच्युडको समस्या आउन नदिन अनिवार्य स्टेसन राख्ने र त्यहाँ निश्चित समयको विश्रामपछि मात्र अर्को स्टेसन पुग्ने व्यवस्था गरेको हो ।

आयोजना निर्माणका लागि इटालियन कम्पनीले रोप्स र डोपलमेयरले परामर्शदाताको काम गर्नेछन् । अन्तर्राष्ट्रिय अनुभवी कम्पनी भएकाले यो केबलकारमा उपकरणहरू डोपलमेयरकै प्रयोग हुने जनाइएको छ ।
केबलकार निर्माणका लागि करिब ५३ अर्ब रुपियाँ लाग्ने अनुमान छ । यसका लागि २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत रकम वैदेशिक लगानीबाट जुटाउने योजना कम्पनीको छ ।

स्वपुँजीको केही हिस्सा सार्वजनिक सेयर निष्कासनबाट समेत जुटाउने र विदेशी लगानी सकेसम्म ऋणका रूपमा लिने योजना रहेको सापकोटाको भनाइ छ । “वित्तीय व्यवस्थाका लागि विदेशी लगानीकर्तासँग संवाद जारी छ, अमेरिकी लगानीकर्ताले बढी चासो देखाएका छन्,” उनले भने ।

आयोजनाको डीपीआर बोर्डले स्वीकृत गरेपछि लगानी बोर्डसँग आयोजना विकास सम्झौता गर्नुपर्ने हुन्छ । त्यसका लागि वित्तीय व्यवस्थापनको टुङ्गो लागेको हुनुपर्छ । डीपीआरका लागि कम्पनीलाई लगानी बोर्डले २०७५ भदौ महिनामा अनुमति दिएको थियो । डीपीआर तयार भए पनि वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएको छैन ।

राष्ट्रिय वन्यजन्तु कोष अन्नपूर्ण संरक्षण क्षेत्र मातहतको क्षेत्रमा पर्ने भएकाले त्यहाँबाट प्रक्रिया टुङ्गो लाग्न सकेको छैन । “सबै प्रक्रिया पूरा गरेर हामीले अबको एक वर्षभित्र निर्माण थाल्ने र त्यसको ४३ महिनाभित्र सञ्चालन तथा परीक्षण सक्ने योजना छ,” उनले भने।

मुक्तिनाथ केबलकार नेपालको नयाँ पहिचानका रूपमा स्थापित हुने र यसले पर्यटकीय तथा आर्थिक गतिविधि बढाउने आकलन गरिएको छ । वार्षिक करिब ३६ लाख जनालाई सेवा दिने क्षमतामा बनाउन लागिएको यो केबलकारले सरकारलाई वार्षिक साढे दुई अर्ब रुपियाँ राजस्व बुझाउने अनुमान गरिएको छ ।

करिब एक हजार दुई सय जनालाई प्रत्यक्ष रोजगारी दिनेछ भने यसमा करिब १३ मेगावाटसम्म विद्युत् खपत हुनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि बढ्ने पर्यटकीय गतिविधिलाई यसले थप प्रवद्र्धन गर्नेछ । पर्यटकीय गतिविधि बढेपछि समग्र गण्डकी प्रदेशकै आर्थिक क्रियाकलाप प्रवद्र्धन हुने विश्वास आयोजनाको छ । गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्