
नेपाल वायुसेवा निगमले झन्डै नौ महिनापछि बिहीबार काठमाडौं–दिल्ली–काठमाडौं उडान गरेको छ । पहिलो उडानमा काठमाडौंबाट १ सय ४१ यात्रु दिल्ली गए भने उताबाट १ सय २ यात्रु काठमाडौं आएका छन् ।
निगमले पहिलो उडानमा न्यारोबडी विमान प्रयोग गरेको छ । भारतले नेपालबाट जाने यात्रुलाई कोभिड संक्रमण नभएको खुल्ने ७२ घण्टासम्मको पीसीआर प्रमाणपत्र अनिवार्य हुनुपर्ने र १४ दिन बास बस्ने ठेगाना समेटिएको एक्जमसम फारम भर्नुपर्ने नियम बनाएको छ ।
यता नेपाल सरकारले ७२ घण्टाको पीसीआर नेगेटिभ प्रमाणपत्र मात्रै अनिवार्य गरेको छ । पहिलो दिनको उडानमा निगमले १० जना यात्रुलाई विमानस्थलबाट फिर्ता गरेको छ । जसमा ५ जना पीसीआर प्रमाणपत्र नभएका र अन्य ५ जना कागजात नमिलेका थिए । उडान शुरू भएपछि कोरोनाबाहेक अरू रोगको उपचारका लागि दिल्ली जाने बिरामीलाई सहज भएको छ ।
बढ्न थालेको कोरोना संक्रमण रोकथामका लागि गत चैत १० देखि रोकिएको नियमित उडान यस पटक भारतले प्रस्ताव गरेको एयर–बबल अवधारणाअनुसार शुरू भएको हो ।
यो अवधारणाअनुसार नेपाली र भारतीयबाहेक तेस्रो मुलुकका नागरिकले उड्न पाउने छैनन् । तर कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रतिनिधि तथा तिनका परिवारजनले भने काठमाडौं–दिल्ली आउजाउ गर्न सक्नेछन् । हाललाई नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै दैनिक एक उडानमात्रै गर्न पाउने छन् । यात्रु अभावका कारण निगमले अर्को उडान आइतबारमात्रै राखेको छ ।
भारतीय वायुसेवा एयर इन्डियाको उडान आउने बिहीबारदेखि शुरू हुने जनाइएको छ । नेपालबाट हुने उडानमध्ये थाइल्यान्ड, बंगलादेश, भुटान र सिंगापुरका लागि भने अझै शुरू भइसकेको छैन । नेपालमा १६ वटा मुलुकका २६ वटा वायुसेवाले २१ वटा गन्तव्यबाट काठमाडौंका लागि व्यावसायिक उडान अनुमति लिएका छन् ।
नेपालसँग अन्तर्राष्ट्रिय उडान जापान, दक्षिण कोरिया, चीन, हङकङ, थाइल्यान्ड, सिंगापुर, मलेसिया, भुटान, थाइल्यान्ड र बंगलादेशबाट हुन्छ । त्यस्तै पश्चिममा भारतसहित मध्यपूर्वी मुलुकहरू कतार, कुवेत, मस्कट, यूएई र टर्की छन् । अन्तर्राष्ट्रिय उडानमा नेपालका चार वायुसेवाहरू नेवानि, हिमालय, बुद्ध र श्री एयरलाइन्सले अनुमति पाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।