३० असार २०८३, मंगलबार

मल किन्न बंगलादेशसँग बल्ल सम्झौता

पुस ३, २०७७
मल किन्न बंगलादेशसँग बल्ल सम्झौता
तस्वीर सौजन्य : कान्तिपुर दैनिक

बंगलादेशबाट मल ल्याउने भनिएको साढे तीन महिनापछि बल्ल सम्झौता भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बंगलादेशबाट जीटूजीमार्फत ५० हजार टन मल ल्याउन सम्झौता गरेको हो ।

मन्त्रालयका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनले बंगलादेशको ढाकामा बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

युरिया मलको अन्तर्राष्ट्रिय फर्मुला मूल्यअनुसार प्रतिटन २५९.१९५ अमेरिकी डलरमा खरिद सम्झौता भएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।

यो मल अन्तर्राष्ट्रिय बोलपत्र मूल्यभन्दा प्रतिटन १८.५२ अमेरिकी डलरले सस्तो रहेको उनको भनाइ छ । ‘नेपाल सरकारले अनुदानमा प्रदान गर्ने युरिया मलको पछिल्लो अन्तर्राष्ट्रिय बोलपत्रको मूल्यभन्दा प्रतिटन १८.५२ अमेरिकी डलरले न्यून हो,’ प्रवक्ता केसीले भने । धानबालीकै मुखमा मल अभाव भएपछि कृषि मन्त्रालयले बंगदेशबाट पैंचोमा ल्याउने जनाएको थियो । यस विषयमा दुई देशका प्रधामन्त्रीबीच भदौ दोस्रो साता मौखिक सहमति भएको थियो । दुई महिना ढिलो गरी बंगलादेश पैंचोमा दिने मौखिक सहमतिबाट पछि हटेपछि जीटूजीमार्फत खरिद गर्न लागिएको हो ।

कात्तिक २४ मा बसेको मन्त्रिपरिषद् बैठकले जीटूजीमार्फत मल ल्याउने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रालयलाई निर्देशन दिइयो । तर मन्त्रिपरिषद्को निर्णयमा पुनः अन्योल देखियो । त्यसपछि जीटूजीबाट पनि सम्भावना टर्दै गएको थियो । मसिर १८ मा बसेको मन्त्रिपरिषद् बैठकले पुनः जीटूजीमार्फत मल खरिद गर्ने निर्णय गरेपछि प्रक्रिया फेरि अघि बढेको हो । कृषि सामग्री कम्पनी लिमिटेडले एलसी खोलेको १० दिनपछि मल लोडिङ सुरु हुने सम्झौतामा उल्लेख छ । ५० हजार टन मल दुई महिनाभित्र बंगलादेशले उपलब्ध गराइसक्ने जनाइएको छ ।

मन्त्रालयका अनुसार बंगलादेशको चट्टोग्रामबाट मल मंगला जलमार्गमार्फत जेस्वर वा खुल्ना, रोहनपुर/सिंहबाद हुँदै रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवाका गोदामसम्म आपूर्ति हुनेछ । केही मात्रामा मल चट्टोग्रामबाट भारतको कोलकाता वा हल्दिया हुँदै पनि नेपाल ल्याइने प्रवक्ता केसीले बताए । बंगलादेशको मल आयात गर्नकै लागि कृषि सामग्री कम्पनीले टेन्डर प्रक्रिया टुंग्याइसकेको छ । कम्पनीले मल ढुवानी गर्न संयुक्त अरब इमिरेट्स (यूएई) को कम्पनी जेन्ट्रेड एफजेडएफलालाई यसको जिम्मा दिएको छ । कृषि सामग्रीले गत असोज ३ मा ग्लोबल टेन्डर आह्वान गरेको गरेको थियो । पाँच वटा कम्पनीको टेन्डर आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो ।

अब मल अभाव हुन नदिने कृषि सचिव योगेन्द्र कार्कीले दाबी गरे । ‘अहिले पनि अभाव छैन । मकै, गहुँलगायतका बालीलाई मल पर्याप्त नै छ,’ उनले भने, ‘बंगलदेशको मल दुई महिनाभित्र आउँछ, त्यसपछि झन् सहज हुन्छ ।’ मन्त्रालयले मल अभावको समस्या हटाउन अल्प र दीर्घकालीन रूपमा काम गरिरहेको उनले जानकारी दिए । ‘अल्पकालीनका लागि बंगलादेशबाट ल्याउन लागिएको हो । अन्य दुई लटमा पनि टेन्डर गरिरहेका छौं । ५० प्रतिशत जीटूजी र ५० प्रतिशत टेन्डर गर्छौं,’ उनले भने, ‘अब मलको समस्या सदाका लागि अन्त्य हुन्छ । सम्भवतः पाँच–सात वर्षमा नेपालमै कारखाना खुल्छ ।’ कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्